काठमाडौं । गत १० गते आएको भीषण बाढीमा परी क्षतिग्रस्त भएको रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा जारी उद्धार टोलीलाई मद्दत गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि जाने भएका छन् ।
कुलमानको सचिवालयका अनुसार नेपाली सेनाको अनुरोधमा पूर्वऊर्जामन्त्रीसमेत रहेका उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । विदेशी विज्ञसहित त्यहाँ खटिएको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउसभित्र जान प्रयास गरिरहेको छ ।
यस क्रममा आवश्यक समन्वय र सुझावका लागि पूर्वऊर्जामन्त्री घिसिङलाई पनि सेनाले बोलाएको हो । यसअघि भदौ १४ गते उनी चिलिमे सुरुङसहितका बाढी प्रभावित क्षेत्रको रेकीमा पुगेका थिए ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको उद्धार कार्यका क्रममा करिब २०० मिटर अगाडि रहेको पावरहाउस क्षेत्रमा पुग्ने प्रयास भइरहेको छ । पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको छ ।
पावरहाउसको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा ठूलो ब्याट्री बैंक (बत्ति पर्याप्त हुने) लगायत आवश्यक खाद्य सामग्री रहेको छ । सम्पर्कविहीन ६ जना त्यहाँ रहेको आशंका गर्दै उद्धार टोलीले काम गरिरहेको छ ।