ललितपुर । ललितपुरका तीन सामुदायिक विद्यालयका ५० भन्दा बढी शिक्षकलाई कक्षाकोठामा देखिने चुनौतीपूर्ण व्यवहार व्यवस्थापनसम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको छ। विद्यार्थीलाई दण्ड वा सजाय दिनुभन्दा सम्मानजनक, बालमैत्री र प्रमाणमा आधारित अनुशासनका उपाय अपनाउन प्रशिक्षणमा जोड दिइएको थियो।
आकार फाउन्डेसनले आयोजना गरेको प्रशिक्षण पाटन हाई स्कुल, श्रमिक शान्ति उच्च माध्यमिक विद्यालय र ललित कल्याण आधारभूत विद्यालयमा सञ्चालन गरिएको हो। तीन दशकभन्दा लामो समयदेखि नेपालका सहरी तथा ग्रामीण क्षेत्रका विद्यालयमा काम गर्दै आएकी शिक्षाविद् तथा प्रशिक्षक सुधा श्रेष्ठ लामाले प्रशिक्षणको नेतृत्व गरेकी थिइन्।
प्रशिक्षणका क्रममा विद्यार्थीको फरक व्यवहारलाई अनुशासनहीनताको रूपमा मात्रै नहेरी त्यसपछाडिको कारण र विद्यार्थीले व्यक्त गर्न खोजेको सन्देश बुझ्न शिक्षकलाई प्रोत्साहित गरिएको थियो। घरेलु वातावरण, सिकाइसम्बन्धी फरक आवश्यकता, बुलिङ, मानसिक तनाव तथा अन्य सामाजिक–पारिवारिक परिस्थितिले विद्यार्थीको व्यवहारमा असर पार्न सक्ने विषयमा छलफल गरिएको थियो।
नेपालमै घटेका वास्तविक घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै शिक्षकहरूलाई विभिन्न परिस्थितिमा विद्यार्थीलाई कसरी सहयोग गर्ने भन्ने विषयमा समूहगत अभ्याससमेत गराइएको थियो। बढी उमेरका कारण बुलिङमा परेको बालक, लामो समयसम्म कक्षामा बस्न नसक्ने विद्यार्थी, घरेलु हिंसाको वातावरणमा हुर्किएकी बालिका तथा परिवारलाई सहयोग गर्न बिहानै काम गर्नुपर्ने भएकाले कक्षामा निदाउने विद्यार्थीका घटनालाई प्रशिक्षणमा समेटिएको थियो।
यस्ता परिस्थितिमा शारीरिक वा मानसिक सजाय दिनुको सट्टा मार्गदर्शन, व्यक्तिगत संवाद र सहयोगमार्फत विद्यार्थीको व्यवहार सुधार गर्न सकिने विषयमा शिक्षकहरूले अभ्यास गरेका थिए।
प्रशिक्षणअघि र पछि शिक्षकको नाम नखुल्ने गरी स्वमूल्यांकन प्रश्नावलीसमेत भराइएको थियो। प्रश्नावलीमार्फत व्यवहार व्यवस्थापनमा शिक्षकको आत्मविश्वास, सकारात्मक अनुशासनप्रतिको दृष्टिकोण र कक्षाकोठामा अहिंसात्मक उपाय प्रयोग गर्ने प्रतिबद्धताको मूल्यांकन गरिएको थियो।
प्रशिक्षणपछि शिक्षकहरूले सकारात्मक व्यवहारको प्रशंसा गर्ने, विद्यार्थीको ध्यान विनम्रतापूर्वक सही दिशातर्फ मोड्ने, व्यक्तिगत कुराकानी गर्ने, जिम्मेवारी दिने र विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने जस्ता उपाय व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रशिक्षक लामाले अनुशासन शिक्षणको महत्वपूर्ण हिस्सा भए पनि दण्ड–सजाय शिक्षकका लागि अनिवार्य उपाय नभएको बताइन्। उनले शिक्षकहरूलाई सार्वजनिक रूपमा प्रशंसा गर्ने, पुरस्कार वा प्रोत्साहन प्रणाली अपनाउने, व्यवहारलाई नरम तरिकाले सही दिशानिर्देश गर्ने, विद्यार्थीलाई जिम्मेवारी दिने, व्यक्तिगत कुराकानी गर्ने तथा साना सुधारलाई समेत प्रोत्साहन गर्ने गरी छ वटा व्यावहारिक रणनीति प्रस्तुत गरिन्।
प्रशिक्षणमा शारीरिक तथा मानसिक सजायभन्दा शिक्षक र विद्यार्थीबीचको सकारात्मक सम्बन्धले सिकाइ, आत्मविश्वास र कठिन परिस्थितिसँग सामना गर्ने क्षमता बढाउनुका साथै कक्षाकोठाको व्यवहार सुधार गर्न प्रभावकारी हुनेमा जोड दिइएको थियो।