काठमाडौं । रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
NAIMA ले आफ्नो पूर्वनिर्णयअनुसार उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। NAIMA अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा सहयोग रकम हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा NAIMA का बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा NAIMA को डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्की सहभागी थिए।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले ५० लाख रुपैयाँ तुलनात्मक रूपमा सानो रकम भए पनि विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु नै यसको मुख्य उद्देश्य रहेको बताइन्।
उनले NAIMA का सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन्।
अध्यक्ष वैद्यले यो सहयोग आर्थिक सहयोगमा मात्र सीमित नभई कठिन परिस्थितिमा प्रभावित समुदायसँग आफूहरू साथमा रहेको सन्देशसमेत भएको बताइन्।