काठमाडौं। भोटेकोशी बाढीले क्षति पुर्याएका रसुवाका २० वटा झोलुङ्गे पुलको मर्मत सरकारले तीव्र बनाएको छ। तीमध्ये पाँचवटा पुलको मर्मतमा काम अघि बढिसकेको छ।
भदौ १० गते आएको बाढीले मुग्लिनदेखि टिमुरेसम्मका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो। सरकारी अधिकारीले प्रभावित क्षेत्रमा पुगेर गरेको मूल्यांकनका आधारमा २० वटा पुल मर्मत गर्नुपर्ने र ३३ वटा पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए।
मर्मत गर्नुपर्ने २० वटा पुलका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो। तीमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ।
यी पाँचवटा पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी बाढीले पूर्ण रूपमा क्षति पुर्याएका वा पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।
बाढीबाट क्षतिग्रस्त पुल मर्मत तथा पुनर्निर्माण भएपछि प्रभावित क्षेत्रका स्थानीयको आवागमन सहज हुने अपेक्षा गरिएको छ।