रुपन्देही । नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्यांकरबाट अनधिकृत रुपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ ।
निगमका अनुसार अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि २० हजार लिटरका दरले डिजेल ढुवानी गरी आएका तीन ट्यांकरबाट डिजेल झिकिएको थियो ।
निगमका अनुसार, लु१ख ६५०४, लु२ख १५४४ र लु१ख ६६१९ नम्बरका ट्यांकरबाट सिद्धार्थनगर नगरपालिका-भैरहवास्थित सराफ आयल स्टोर्सको परिसरमा डिजेल झिकिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
निगमका अनुसार लु१ख ६५०४ र लु२ख १५४४ नम्बरका ट्यांकरको यान्त्रिक सुरक्षा लकिङ प्रणाली बिगारी डिजेल झिकिरहेको अवस्थामा तथा लु१ख ६६१९ नम्बरको ट्यांकरबाट डिजेल निकालेर भाग्ने क्रममा नियन्त्रणमा लिइएको थियो ।
स्थलगत जाँच गर्दा तीन वटा ट्यांकरको लकिङ प्रणालीमा ज्याक लगाई म्यानहोल खोलिएको र ३० लिटर डिजेल नीलो ड्रममा राखिएको अवस्थामा फेला परेको थियो । ट्यांकर चालक, सहचालक र पम्प सञ्चालकविरुद्ध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
यस्तै, सराफ आयल स्टोर्सलाई अनधिकृत रुपमा पेट्रोलियम पदार्थ खरिद तथा बिक्री वितरण गरेको अभियोगमा एक लाख जरिवाना तथा छ महिनासम्म पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने कारबाही गरिएको निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए ।
ट्यांकर चालक तथा सहचालकलाई निगमका कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध गर्नाका साथै निगमको करार सम्झौताअन्तर्गत सञ्चालनमा रहेका ट्यांकर चलाउन नपाउने गरी कारबाही गरिएको छ ।