काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा नागरिकको सुरक्षित व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आम नागरिकको भूमिकाको प्रशंसा गरेका छन्।
बाढी आएको छैटौँ दिनसम्म पनि प्रभावित क्षेत्रमा आफ्नो ज्यानको समेत प्रवाह नगरी खटिएका सबैप्रति प्रधानमन्त्रीले सोमबार सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका हुन्। उनले विपद्का बेला देखाइएको धैर्य, साथ, सहयोग र समन्वयप्रति धन्यवाद दिँदै प्रदेश तथा स्थानीय सरकारले सङ्घीय सरकारलाई दिएको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।
मित्रराष्ट्र, स्वदेशी तथा विदेशी सङ्घसंस्था, सञ्चारमाध्यमलगायत सरोकारवालाले देखाएको सद्भाव र सहयोग पनि प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ।
सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिँदै राहत सङ्कलन र वितरणलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ३७९ जनाको उद्धार गरिएको र ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ।
प्रधानमन्त्रीले उद्धार तथा राहत कार्यमा खटिएका सबै निकायसँग नियमित समन्वय र जानकारी लिइरहेको जनाउँदै प्रभावित नागरिकको पुनःस्थापनाका लागि समेत सरकारले आवश्यक तयारी अघि बढाएको बताएका छन्।