काठमाडौँ । साताको दोस्रो कारोबार दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक २.४३ प्रतिशत बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ४३८०.७२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस दिन १०६.७९ अंक बढेर ४४८७.३२ विन्दुमा पुगेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ। अरू उपसमूहको परिसूचक भने यस दिन सामान्य घटेको छ।
सोमबार नेप्से परिसूचक ३.९७ अंक घटेर २०७९.०७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ५९ हजार २८५ पटकको कारोबारमा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन हिमालयन लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईबिएल स्टेबल फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फण्डको इकाईमूल्य यस दिन १ रुपैयाँ घटेर ९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको करिब १४ करोडको शेयर कारोबार भएको छ भने ग्रीन भेञ्चर्सको करिब साढे १२ करोडको शेयर किनबेच भएको छ।