काठमाडौँ । नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले सवारीसाधन खरिदकर्तालाई आकर्षित गर्न सस्तो ब्याजदरका अटो कर्जा योजना सार्वजनिक गरेका छन् । ब्याजदर, सेवा शुल्क, कर्जा अवधि तथा अतिरिक्त सुविधालाई प्रतिस्पर्धाको आधार बनाउँदै वित्तीय संस्थाबीच ग्राहक तान्ने होड चलेको छ ।
अटो कर्जाका लागि ग्राहकले नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । एकाघर परिवारका सदस्य वा धनजमानी बस्ने व्यक्तिको समेत आवश्यक कागजात मागिनेछ । त्यस्तै, हालसालै खिचिएको फोटो, आयस्रोत प्रमाणित गर्ने कागजात तथा व्यवसायिक आयस्रोत भएका ग्राहकले म्याद ननाघेको व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला वा चुक्ता प्रमाणपत्र र आर्थिक विवरण पेश गर्नुपर्नेछ ।
सवारीसाधन खरिद गर्ने ग्राहक आकर्षित गर्न बैंकहरूले ५ प्रतिशत आसपासदेखि सुरु हुने ब्याजदरमा अटो कर्जा योजना सार्वजनिक गरेका छन्।
अटो शोको अवसरमा वाणिज्य बैंकसँगै विकास बैंक र फाइनान्स कम्पनीहरूले समेत ब्याजदर, सेवा शुल्क, कर्जा अवधि तथा अन्य सुविधामा छुट तथा सहुलियत घोषणा गरेका छन् ।
नेपाल बैंकको ब्याजदर ४.९४ प्रतिशत
नेपाल बैंकले आधार दरमा ०.४९ प्रतिशत प्रिमियम थप गरी ४.९४ प्रतिशतमा अटो कर्जा उपलब्ध गराउने योजना ल्याएको छ । बैंकले ०.५० प्रतिशत प्रशासनिक सेवा शुल्क तोकेको छ ।
अटो कर्जा लिने ग्राहकलाई अधिकतम ३ लाख रुपैयाँ सीमासहित आजीवन निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने सुविधा पनि बैंकले ल्याएको छ । यो योजना विद्युतीयसहित नयाँ निजी तथा व्यावसायिक सवारी खरिदमा लागू हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंकको ५.०२ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका सवारीका लागि सात वर्ष अवधिको कर्जा ५.०२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । अधिक तरलताका कारण आधार दरमा न्यून प्रिमियम थपेर कर्जा दिन सकिएको बैंकले जनाएको छ । १ करोड रुपैयाँसम्मको कर्जामा सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ ।
नबिलको ५.१७ प्रतिशत, कुमारीको ५.२१ प्रतिशत
नबिल बैंकले अधिकतम सात वर्षका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ । सेवा शुल्क ०.५० प्रतिशत छ। व्यावसायिक सवारीका लागि भने ब्याजदर ६.९२ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, कुमारी बैंकले अधिकतम १० वर्षका लागि ५.२१ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ । बैंकले ०.५० प्रतिशत सेवा शुल्क लिनेछ । बैंकको आधार दर ५.०३ प्रतिशत रहेको छ। व्यावसायिक सवारीका लागि आधार दरमा ३ प्रतिशत प्रिमियम थप गरिनेछ ।
अन्य बैंकका योजना
एनआईसी एशिया बैंकले सात वर्ष अवधिका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा योजना ल्याएको छ । कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकले विद्युतीय सवारी खरिदका लागि ५.१७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । सात वर्षे कर्जामा पहिलो तीन वर्ष ब्याजदर ५.१७ प्रतिशतमा स्थिर रहने र त्यसपछि आधार दरमा २ प्रतिशत प्रिमियम जोडिनेछ ।
माछापुच्छ्रे बैंकले आधार दरमा ०.५० प्रतिशत प्रिमियम थप गरी ५.४५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ। कर्जाको अवधि अधिकतम १० वर्ष र सेवा शुल्क ०.५० प्रतिशत छ ।
लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो कर्जा योजना ल्याएको छ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम थपेर कर्जा दिइनेछ भने सेवा शुल्क ०.५० प्रतिशत छ । बैंकले कुल लागतको ६० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने जनाएको छ ।
प्रभु बैंकले आधार दरमा ०.५० प्रतिशत प्रिमियम थप गरी करिब ५.३५ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ । निजी तथा व्यावसायिक सवारीका लागि समान ब्याजदर र ०.५० प्रतिशत सेवा शुल्क कायम गरिएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ सवारी खरिदका लागि ५.१३ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको छ । प्रोसेसिङ शुल्क ०.५० प्रतिशत तोकिएको छ ।
कृषि विकास बैंकको छुट
कृषि विकास बैंकले प्रिमियम तथा सेवा शुल्कमा ३३.३३ प्रतिशत छुटसहित अटो कर्जा योजना ल्याएको छ । निजी सवारीका लागि ब्याजदर ५.६६ प्रतिशत र व्यावसायिक सवारी तथा हायर पर्चेजतर्फ सात वर्षसम्मका लागि ६.३३ प्रतिशत कायम गरिएको छ ।
बैंकले इभीबाहेकका निजी सवारीको भ्याटसहितको मूल्यको ८० प्रतिशतसम्म तथा विद्युतीय सवारी खरिदमा ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।
विकास बैंक र फाइनान्स कम्पनी पनि प्रतिस्पर्धामा
वाणिज्य बैंकसँगै विकास बैंक तथा फाइनान्स कम्पनीले पनि अटो शो लक्षित योजना ल्याएका छन् ।
मुक्तिनाथ विकास बैंकले आधार दरमै अर्थात् ५.५४ प्रतिशतमा अटो कर्जा दिने घोषणा गरेको छ । यो योजना भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । बैंकले ‘मुक्तिनाथ सवारी कर्जा’ अन्तर्गत २४ घण्टाभित्र कर्जा स्वीकृत गर्ने व्यवस्था गरेको जनाएको छ ।
महालक्ष्मी विकास बैंकले अटो शोमा स्टल राखेर सवारी कर्जासम्बन्धी परामर्श तथा सहजीकरण गरिरहेको छ । बैंकका अनुसार भदौ महिनाको आधार दर ५.६४ प्रतिशत रहेको छ भने अटो शोको अवसरमा ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
गोर्खाज फाइनान्सले समेत अटो कर्जा योजना ल्याएको छ । गोर्खाज फाइनान्सले पनि अधिकतम सात वर्षका लागि ६.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराएको छ। फाइनान्सको सेवा शुल्क भने केही बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी रहेको छ ।
ब्याजदरसँगै सुविधामा पनि प्रतिस्पर्धा
यसपटकको अटो शोमा बैंक तथा वित्तीय संस्थाबीच केवल ब्याजदरमा मात्रै नभई स्थिर ब्याजदर, सेवा शुल्क, कर्जा अवधि, क्रेडिट कार्ड, शीघ्र कर्जा स्वीकृति र डाउन पेमेन्टको सुविधामा समेत प्रतिस्पर्धा देखिएको छ ।
सवारी खरिदकर्ताका लागि भने यसले एउटै स्थानमा विभिन्न बैंकका कर्जा योजना तुलना गर्ने अवसर दिएको छ । यद्यपि विज्ञापनमा देखाइएको प्रारम्भिक ब्याजदरका साथै आधार दर, प्रिमियम, सेवा शुल्क, कर्जा अवधि, डाउन पेमेन्ट र अन्य शुल्कसमेत हेरेर मात्र वास्तविक कर्जा लागत तुलना गर्नुपर्ने हुन्छ ।