जनकपुर । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘द अल–न्यू प्रोटोन इ।मास ५’ सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको यो दोस्रो विद्युतीय सवारी हो।
मलेसियामा आयोजित ‘अलियान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि जितेको इ.मास ५ लाई आधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको संयोजनका रूपमा कम्पनीले प्रस्तुत गरेको छ।
इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध छन्। त्यस्तै, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन्।
जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र मूल्यका कारण इ.मास ५ यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे। उनका अनुसार भक्तपुरबाट सुरु भएको क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर आइपुगेको छ भने वीरगञ्जमा हुने कार्यक्रमपछि नेपालभरका ११ वटा प्रोटोन सोरुममार्फत गाडी उपलब्ध गराउने योजना छ।
इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। जनकपुरमा सार्वजनिक अवसरमा प्राइमको विशेष सुरुवाती मूल्य ३२.९९ लाख र प्रिमियमको ३६.९९ लाख तोकिएको छ। ग्राहकले जनकपुरस्थित नयाँ सोरुममा गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।