क्रोएसियामा डढेलोबाट एक हजार जना विस्थापित

0 Shares

काठमाडौं । दक्षिणी क्रोएसियाको तटीय सहर ओमिसमा भीषण डढेलो फैलिएपछि कम्तीमा एक हजार स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ ।

डढेलो थप फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रबाट थप मानिसलाई पनि सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने ओमिसका मेयर जोन्को मोसिकले शुक्रबार बताएका छन् ।

क्रोएसियाली समाचार संस्था हिनाका अनुसार बिहीबार राति स्थानीय समयअनुसार करिब ८ः२१ बजे नजिकैको लोकवा रोगोज्निकामा सुरु भएको आगो रातभर ओमिसको माथिल्लो क्षेत्रमा फैलिएको थियो । आगोले धेरै घर तथा सवारीसाधनलाई प्रत्यक्ष जोखिममा पारेको ओमिस स्वयंसेवी अग्नि नियन्त्रण विभागका प्रमुख विसेस्लाभ पेसिकले बताए ।

आगलागी नियन्त्रणका लागि देशका विभिन्न भागबाट थप जनशक्ति र उपकरण परिचालन गरिएको थियो । रातभर १५७ जना अग्निनियन्त्रक र ४४ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

क्रोएसियामा लामो समयदेखि जारी भीषण गर्मी र गम्भीर खडेरीका बीच डढेलो फैलिएको हो । हप्तौँदेखि परेको अत्यधिक गर्मीका कारण वनस्पति अत्यन्तै सुक्खा बनेपछि एड्रियाटिक तटीय क्षेत्रमा डढेलो फैलिने जोखिम बढेको छ ।

स्थानीय अधिकारीहरूले आगो नियन्त्रणमा लिन निरन्तर प्रयास भइरहे पनि प्रभावित क्षेत्रमा थप मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । गर्मी र सुक्खाका कारण आगो नियन्त्रणमा चुनौती थपिएको छ ।

सम्बन्धित समाचार