काठमाडौं । अपि पावर कम्पनीको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा १३०.०६ प्रतिशतले बढेर ९६ करोड ६ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको सञ्चालन मुनाफा ९० करोड ८७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। यसैगरी ब्याज खर्च ५७ करोड ७ लाख रुपैयाँबाट घटेर ४३ करोड ३० लाख रुपैयाँमा झरेको छ।
प्रशासनिक खर्चसमेत घटेको छ। अघिल्लो वर्ष ४ करोड ८८ लाख रुपैयाँ रहेको यस्तो खर्च समीक्षा अवधिमा ३ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीले गरेको लगानीको मूल्यांकनबाट प्राप्त रकम भने उल्लेख्य बढेको छ। यस्तो रकम १२ करोड १७ लाख रुपैयाँबाट बढेर ४७ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
विद्युत् बिक्री आम्दानीमा वृद्धि, ब्याज तथा प्रशासनिक खर्चमा कमी र लगानीको मूल्यांकनमा भएको वृद्धिले कम्पनीको खुद नाफा बढाउन योगदान गरेको देखिन्छ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ। अघिल्लो वर्ष ६.८७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर १५.०६ रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.१२ रुपैयाँबाट बढेर ११९.५१ रुपैयाँ पुगेको छ।
समीक्षा अवधिको अन्त्यमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ।