पहिरो र बाढीले देशभरका यी सडकमा यातायात अवरुद्ध

0 Shares

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।

काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ । इलाम नगरपालिका ९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका ४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका ५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट-डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका ४ काडाबगर र सोही पालिकाको धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रोल्पाको थबाङ गाउँपालिका २ लाप्लेभिर र दबाङमा पनि भूस्खलनका कारण ले घोराही-थबाङ सहिद मार्ग पनि दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार