आजदेखि नाइमा मोबिलिटी एक्सपो सुरु, ५५ ब्रान्ड र ४० नयाँ मोडलका गाडी मुख्य आकर्षण

0 Shares

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा प्रतीक्षित उत्सवका रूपमा लिइने नाइमा नेपाल मोबिलिटी एक्सपो आजबाट काठमाडौंमा भव्य रूपमा सुरु हुँदैछ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० को आयोजनामा उक्त मेला सुरु हुन लगेको हो । मेला आज साउन २६ गतेदेखि ३१ गतेसम्म चल्नेछ ।

प्रदर्शनीस्थललाई अत्याधुनिक र भव्य रूपमा निर्माण गरिएसँगै अटो सौखिनहरूका लागि यो एक्सपो विशेष गन्तव्य बन्ने देखिन्छ ।

गत वर्षको अटो एक्सपोको प्रिमियम अनुभवलाई अझ परिष्कृत गर्दै यसपटकको २०२६ संस्करणलाई थप व्यवस्थित, सहज र समावेशी बनाइएको आयोजक नाइमाले जनाएको छ ।

आगन्तुकमैत्री वातावरणमा केन्द्रित रहेको यस एक्सपोमा ५१ वटा स्टलहरू रहेका छन् भने ५५ भन्दा बढी चर्चित ब्रान्डहरूको सहभागिता रहेको छ । यस वर्षको विशेष आकर्षणका रूपमा ४० भन्दा बढी नयाँ सवारी साधनहरू लन्चिङ हुने तयारीमा छन् ।

एक्सपोमा विलासी गाडी मात्र नभई दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेइकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधानका आधुनिक प्रविधिहरू प्रदर्शन हुने आयोजकले जनाएको छ । गत वर्षको तुलनामा यस वर्षको एक्सपो अझ भव्य र प्रविधिमैत्री बन्ने आयोजकले बताएको छ ।

यसपटकको एक्सपोमा चारपांग्रेतर्फ विश्वविख्यात ब्रान्डहरूको बाक्लो उपस्थिति छ । जसमा हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेइको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआईसी, आरफक्स, ग्रेटवाल मोटर्स, जिकर, लिपमोटर, वुलिङ लगायतका ब्रान्डहरूले आफ्ना पछिल्ला मोडलहरू प्रदर्शन गरेका छन् ।

चारपांग्रे तर्फ निसान टेक्टन, नयाँ टाटा पन्च ईभी, महिन्द्रा एक्सईभी–९एस, आरफक्स टी१, चेरी क्यू, लिपमोटर बी३एक्स, वुलिङ बिंगो लाइटर प्रो लगायतका गाडी आकर्षण बन्ने अनुमान गरिएको छ ।

नाइमा अटो एक्सपोमा दुईपांग्रेतर्फ बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्युजो, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफमोटो, ट्रायम्फ, जेएक्समोटो, सीएक्स मोटरसाइकल लगायत ब्रान्ड रहने नाइमाले जनाएको छ ।

बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्युजो, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफमोटो, ट्रायम्फ र जेएक्समोटो, सीएक्स जस्ता ब्रान्डहरूले आफ्ना नयाँ र क्लासिक मोडलहरू प्रदर्शन गर्ने बताइएको छ ।

नाइमाले आगन्तुकहरूको सुविधाका लागि विभिन्न प्रबन्धहरू मिलाएको छ । प्रदर्शनी स्थलमा भीडभाड व्यवस्थापनका लागि डिजिटल टिकेटिङ र पर्याप्त सूचना केन्द्रहरू राखिएका छन् ।

विशेष गरी आगन्तुकहरूलाई सहज रूपमा प्रदर्शनी स्थलसम्म पुग्न र फर्कनका लागि राइड सेयरिङ कम्पनीहरूसँग सहकार्य गरी विशेष सहुलियत र छुटको व्यवस्था समेत गरिएको छ ।

नेपालको समग्र आर्थिक गतिविधि सुस्त रहेको समयमा आयोजना गरिएको यस एक्सपोले अटो बजारमा नयाँ उत्साह थप्ने र ग्राहकहरूलाई एउटै छानामुनि विश्वस्तरीय प्रविधि छनोट गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ

सम्बन्धित समाचार