काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले निरन्तर सदनमा विरोध जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने माग उनीहरूले गरेका हुन् । उक्त विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै उनीहरूले विरोध जनाएका हुन् ।
बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिए ।
सांसद काउचाले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको र सदनलाई विश्वस्त पार्ने प्रयास नभएको भन्दै आपत्ति जनाइन् । प्रतिपक्षले प्रश्न सोध्नु र सरकारलाई सचेत गराउनु घेराबन्दी वा अपमान नभएको धारणा उनले राखिन्।