उत्कृष्ट फिचरसहित नेपालमा अनबक्स भयो नयाँ टाटा पन्च ईभी, नाइमा मोबिलिटी एक्स्पोमा देख्न सकिने

0 Shares

काठमाडौं। टाटा मोटर्सको विद्युतीय एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ पन्च ईभी सार्वजनिक गरेको हो।

नयाँ पन्च ईभीलाई कम्पनीले नयाँ डिजाइन, ठूलो ब्याट्री र थप आधुनिक फिचरसहित बजारमा ल्याएको छ। यसको अगाडिको डिजाइन, पछाडिको टेललाइट, ड्यासबोर्डलगायतका पक्षमा परिमार्जन गरिएको छ। नयाँ पन्च ईभीलाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा समेत प्रदर्शन गरिनेछ।

नयाँ पन्च ईभी दुई ब्याट्री विकल्पमा उपलब्ध छ। यसमा ३० किलोवाट आवर र ४० किलोवाट आवरका ब्याट्री विकल्प छन्। ४० किलोवाट आवर ब्याट्री संस्करणले एआरएआई परीक्षणअनुसार ४६८ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। वास्तविक प्रयोगमा भने ३३५ देखि ३५५ किलोमिटर रेन्ज प्राप्त हुने बताइएको छ।

गाडीमा शक्तिशाली मोटर जडान गरिएको छ, जसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ। यसमा तीन ड्राइभ मोड र चार तहको रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छ। १९५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५० एमएम वाटर वेडिङ क्षमताले खराब तथा पानी जमेको सडकमा समेत सहज सञ्चालनमा सहयोग गर्ने कम्पनीले जनाएको छ।

चार्जिङ क्षमतामा पनि सुधार गरिएको छ। डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म करिब २६ मिनेटमा चार्ज गर्न सकिने दाबी गरिएको छ। त्यस्तै, १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटरसम्म रेन्ज थपिने कम्पनीले जनाएको छ।

फिचरतर्फ नयाँ पन्च ईभीमा एलईडी हेडलाइट तथा डीआरएल, कनेक्टेड एलईडी टेललाइट, १६ इन्चसम्मका अलोय ह्विल, १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायरलगायत सुविधा छन्।

सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, आइसोफिक्स चाइल्ड माउन्ट र ३६० डिग्री क्यामेरा जस्ता सुविधा उपलब्ध छन्। कम्पनीले नयाँ पन्च ईभीमा गरिएका सुधारले विद्युतीय सवारी प्रयोगकर्ताको ‘रेन्ज एन्जाइटी’ कम गर्ने अपेक्षा गरेको जनाएको छ।

सम्बन्धित समाचार