काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयास फेरि सुरु गरेका छन् । केही साताअघि अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको अधिकार हटाउने उनको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले पुनः नयाँ कदम चालेका हुन् ।
राष्ट्रपति ट्रम्पले बिहीबार दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तीमध्ये एउटा आदेशले जन्मसिद्ध नागरिकता प्राप्त गर्न अयोग्य ठहरिने गैर–नागरिकका सन्तान सम्बन्धी विद्यमान परिभाषालाई थप विस्तार गरेको छ ।
दोस्रो कार्यकारी आदेशले ‘बर्थ टुरिज्म’ अभ्यासमा प्रतिबन्ध लगाएको छ । यसअन्तर्गत गर्भवतीहरू आफ्ना शिशुले अमेरिकी नागरिकता प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अमेरिका पुगेर सन्तान जन्माउने प्रचलनलाई रोक्ने व्यवस्था गरिएको छ ।
‘यो काम धेरै वर्षअघि नै हुनुपर्ने थियो, तर अहिले हामी त्यसलाई कार्यान्वयन गरिरहेका छौँ,’ राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट भने । उनले १५० वर्ष पुरानो जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले अस्वीकार गरेको निर्णयको आलोचना पनि गरे ।
पहिलो कार्यकारी आदेशमा भनिएको छ, ‘हाम्रो प्रशासनले अमेरिकाको उदारताको फाइदा उठाएर अमेरिकी नागरिकलाई ठगी गर्ने प्रयास गर्ने दुर्भावनापूर्ण विदेशी तत्वबाट उत्पन्न जोखिमविरुद्ध सुरक्षा गर्दै आएको छ ।’
उक्त कार्यकारी आदेशअनुसार अमेरिकामा जन्मिएका तर दुवै अभिभावक अमेरिकी नागरिक नभएका शिशुले स्वतः अमेरिकी नागरिकता पाउने व्यवस्था लागू नहुने उल्लेख गरिएको छ ।
आदेशमा विदेशी आतंकवादी समूहको सदस्य, विदेशी सरकारका कर्मचारी, ठगी वा जालसाजीमार्फत अमेरिकी नागरिकता प्राप्त गर्ने प्रयास गरेका व्यक्ति तथा संघीय कानुनअनुसार नागरिकता प्रदान नगरिने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्तिका सन्तानलाई जन्मसिद्ध नागरिकताको सुविधा नदिइने व्यवस्था गरिएको छ ।
बीबीसीका अनुसार पुएर्टो रिको जस्ता अमेरिकी भूभागमा जन्मिएका व्यक्तिको जन्मसिद्ध नागरिकताको अधिकार संघीय कानुनमार्फत सुनिश्चित गरिएको छ । ट्रम्प र उनका प्रशासनका अधिकारीहरूले पटक–पटक ‘बर्थ टुरिजम’को आलोचना गर्दै आएका छन् । उनीहरूले रुस र चीनजस्ता प्रतिद्वन्द्वी देशहरूले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गर्दै आफ्ना नागरिकलाई अमेरिका भित्र्याउने प्रयास गरेको आरोपसमेत लगाएका छन् ।
बिहीबार ओभल अफिसबाट कार्यकारी आदेशहरूको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा ‘बर्थ टुरिजम’मार्फत सयौँ हजार शिशु जन्मिएको दाबी गरे ।
तर, गैरदलीय अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार जनगणनामा आधारित सबैभन्दा उच्च अनुमानले पनि अमेरिकामा ‘बर्थ टुरिजम’मार्फत हरेक वर्ष करिब २२ हजारदेखि २६ हजार शिशु जन्मिने देखाउँछ । संस्थाले सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट अमेरिकामा ९ हजार ६०० शिशु जन्मिएको सरकारी तथ्यांक पनि उल्लेख गरेको छ ।
ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टिफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गर्ने केही व्यक्तिको वास्तविक उद्देश्य बच्चा जन्माएर अमेरिकी नागरिकता प्राप्त गराउनु रहेको दाबी गर्दै ‘बर्थ टुरिजम’प्रति चिन्ता व्यक्त गरे ।