काठमाडौं । सरकार र मृतक रवीन्द्र मेहताका परिवारबीच संवाद सकारात्मक भएसँगै शव परीक्षणका लागि तयार भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको थियो ।
गृहमन्त्रीले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए । वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताएका थिए । उनीहरूले अहिले मेहताका शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएका छन् ।
सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते २२ वर्षीय रवीन मेहताको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।