रास्वपाका सांसद पाण्डेले अस्वभाविक हर्कत स्वीकार गर्दै भने– सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

0 Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् । उनले आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहजता देखिए पनि त्यसपछि आपसी समन्वय र छलफलबाट सेनाकै पूर्ण सहयोगमा काम सम्पन्न भएको बताएका छन् ।

मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा सांसद पाण्डेले नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्ने उद्देश्यले पर्खाल हटाउने क्रममा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का चुनौतीपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर अतुलनीय योगदान पुर्‍याउँदै आएको संस्था भएको उल्लेख गर्दै सेनाको गौरवशाली इतिहास, अनुशासन, राष्ट्रप्रतिको समर्पण र नागरिक सर्वोच्चताप्रति सम्मान व्यक्त गरेका छन् ।

पाण्डेका अनुसार सम्बन्धित नेपाली सेनाको टोलीलाई आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक असहजता उत्पन्न भएको थियो । त्यसपछि प्रमुख सेनानीसँग समन्वय र छलफल भएपछि नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न गरिएको हो । उनले उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको पनि जानकारी दिएका छन् ।

सांसद पाण्डेले वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, राज्यका संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न सबैसँग आग्रह गरेका छन् ।

सम्बन्धित समाचार