पर्याप्त तरलताका बाबजुद लगानी विस्तार हुन नसक्नु अर्थतन्त्रको मुख्य चुनौती: सीईओ मनोज ज्ञवाली

0 Shares

काठमाडौँ । नेपाल बैंकर्स संघका सदस्य तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानी विस्तार हुन नसक्नु अर्थतन्त्रको प्रमुख चुनौती बनेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लगानी वृद्धि गर्न नीतिगत स्पष्टता, निजी क्षेत्रको विश्वास तथा सरकार र बैंकिङ क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

उनले बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको उल्लेख गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । ज्ञवालीका अनुसार व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक छ। उद्योग, कृषि, ऊर्जा र निर्यातमुखी क्षेत्रमा वित्तीय स्रोत परिचालन गर्न सके अर्थतन्त्र चलायमान बन्ने उनको भनाइ छ ।

उनले अर्थ मन्त्रालयले नीतिगत, कानुनी तथा प्रक्रियागत अवरोध हटाउन सकारात्मक प्रतिबद्धता जनाएको उल्लेख गर्दै यसबाट निजी क्षेत्रको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे । सरकारको आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्न बैंकिङ क्षेत्र पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले उच्च व्यावसायिक नैतिकता र जिम्मेवारीका साथ आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा वित्तीय स्थायित्वमा योगदान दिन बैंकहरू प्रतिबद्ध रहेको बताए ।

ज्ञवालीका अनुसार सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच निरन्तर संवाद तथा समन्वय कायम रहँदा लगानी विस्तारसँगै अर्थतन्त्रमा देखिएको सुस्तता क्रमशः हट्दै जानेछ ।

सम्बन्धित समाचार