काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा नेपालमै एसेम्बल भएको नयाँ हुन्डाई भेन्यूको बिक्री सुरु हुने भएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आगामी नाइमा मोबिलिटी एक्स्पोमार्फत नयाँ भेन्यूको औपचारिक बिक्री सुरु गर्ने तयारी गरेको हो ।
हुन्डाई मोटर्सको लोकप्रिय सव–फोर मिटर एसयूभी भेन्यूको नयाँ जेनेरेशन अब नेपालमै एसेम्बल भएर बजारमा आउने भएको छ।
नेपालस्थित एसेम्बलिङ प्लान्टमा उत्पादन भइरहेको नयाँ भेन्यू अघिल्लो मोडलको तुलनामा डिजाइन, प्रविधि र सुविधाका हिसाबले उल्लेखनीय रूपमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ। पहिलो पटक यसमा लेभल–२ एडास प्रविधि समावेश गरिएको छ, जसले चालक तथा यात्रुको सुरक्षामा थप सहयोग पुर्याउने विश्वास गरिएको छ।
नयाँ भेन्यूको बाहिरी डिजाइनमा नयाँ एलईडी हेडल्याम्प तथा टेलल्याम्प, आकर्षक फ्रन्ट ग्रिल, नयाँ डिजाइनका १६ इन्च अलोय ह्विल तथा परिमार्जित फ्रन्ट–रियर प्रोफाइल समावेश गरिएको छ। क्याबिनभित्र थ्री–स्पोक स्टेरिङ ह्विल, नयाँ सेन्टर कन्सोल तथा १२.३ इन्चका दुईवटा डिजिटल स्क्रिन उपलब्ध गराइएको छ।
टप भेरियन्टमा ८–स्पीकरयुक्त बोस साउन्ड सिस्टम, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, ३६० डिग्री क्यामेरा, अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, फ्रन्ट पार्किङ सेन्सर, ड्राइभ तथा ट्र्याक्सन मोड र विन्डो सनसेडजस्ता आधुनिक फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
इन्जिनतर्फ भने कुनै परिवर्तन गरिएको छैन। ग्राहकले ५–स्पीड म्यानुअल गियरबक्ससहितको १.२ लिटर कप्पा पेट्रोल, ७–स्पीड डुअल–क्लच ट्रान्समिसनयुक्त १.० लिटर टर्बो पेट्रोल तथा ६–स्पीड म्यानुअल र अटोमेटिक विकल्पसहितको १.५ लिटर डिजेल इन्जिनमध्ये आफूअनुकूल मोडल छनोट गर्न सक्नेछन्।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै एसेम्बल गरिएको नयाँ भेन्यूले आधुनिक प्रविधि, आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यमार्फत नेपाली एसयूभी बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।