‘दाइ कांग्रेस’ र ‘भाइ कांग्रेस’को नाममा फुटको संघारमा

0 Shares

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षबाट सभापति गगनकुमार थापाले आगामी साउन २४ गते आइतबार काठमाडौंमै केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । कांग्रेसको संस्थापनइतरका संयोजक शशांक कोइराला (शेरबहादुर देउवा र पूर्णबहादुर खड्का) पक्षले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ ।

सभापति थापा र संयोजक कोइरालाका नामका दुई कांग्रेस केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै वडासम्म नेता कार्यकर्ता विभाजित भई दुई चिरामा विभाजित भएपछि नेता कार्यकर्ताले दाइ कांग्रेस हो कि भाइ कांग्रेस हो भनेर कित्ता काटका लागि खोजी गर्न थालेका छन् । नेता कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउन दुवै पक्ष सक्रिया रुपमा लागेका छन् ।

विशेष महाधिवेशनबाट नेतृत्व हुत्याएका थापा र विश्वप्रकाश शर्मा संस्थापनलाई भाइ कांग्रेस भनेर नाम दिएको छ । पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले कोइरालालाई संयोजक बनाएर नेतृत्व गरेको कांग्रेसलाई दाइ कांग्रेस भनेर उपमा दिएको नेता कार्यकर्ताले बताएका छन् ।

संस्थापन पक्षले केन्द्रीय कार्य समिति बैठक बोलाएर केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु उपस्थित भई छलफल गर्ने नेताहरुले बताएका छन् । आफ्नो पक्षमा कति नेता कार्यकर्ता खुल्छन् स्पष्ट रुपमा हेर्न संस्थापनले बैठक बोलाएर छलफल गर्न लागेको छ । त्यति मात्रै होइन संस्थापन पक्षले इतर पक्षका नेताहरुविरुद्ध काउन्टर अट्याक गर्न सक्ने आकलन गरिएको छ ।

संस्थापनइतर पक्षले साउन २९ गतेदेखि ३१ गतेसम्म देशैँभरबाट नेता कार्यकर्ता बोलाएर राष्ट्रिय भेलामार्फत नयाँ पार्टी गठन गर्ने तयारीमा जुटेको छ । उक्त भेलामा पूर्वसभापति देउवासमेत सहभागी हुने बचन दिएका छन् । यदि, उनी पार्टी गठन हुने अवस्थासम्म पुग्न सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यस्तै, संस्थापनइतर पक्षका नेता मीन विश्वकर्माले साउन २९ गतेदेखि सुरु हुने भेलाले १४औँ महाधिवेशन पक्षधरका नेता-कार्यकर्ताको भेलाअनुसार सानेपा जाने कि अर्को कार्यालय खोल्ने भन्ने निर्णय गर्ने बताए ।

‘साउन २९ गतेदेखि हुने भेलाले नेपाली १४औँ महाधिवेशनको पक्षधर नेता कार्यकर्तालाई एक ठाउँमा ल्याउँछ, नेता कार्यकर्ताको निर्णयले सानेपा जाने कि अर्को कार्यालय खोल्ने निर्णय गर्छ,’ उनले भने, ‘मिलेन भने अर्को पार्टी बन्छ ।’

संस्थापनइतर पक्षले पार्टी कार्यालय उद्घाटन गरिसकेकाले राष्ट्रिय भेलाबाट नयाँ पार्टी दर्ता गरेर जाने तयारी गरेका छन् । आगामी भदौदेखि दाइ कांग्रेस र भाइ कांग्रेस नभएर नामाकरण गरेर जाने धेरैले आंकलन गरेका छन् ।

संस्थापन पक्षले बुढा भनेर अपहेलना गरेको भन्दै कोइराला पक्षहरु नयाँ पार्टी गठन गरेर प्रतिरोध गर्ने बताएको छ । कांग्रेस एक बनाउन संस्थापन पक्षबाट गगन-विश्व र संस्थापन इतरपक्षबाट खड्का, कोइराला, कृष्ण सिटौलालगायत नेताहरुले दर्जनौँ पटक भेटघाट र छलफल गरेका थिए । त्यति मात्रै होइन औपचारिक रुपमा पत्रसमेत आदनप्रदान भएका थिए ।

संस्थापन पक्षले अर्को पक्षलाई विश्वासमा लिन नसकेपछि कांग्रेस फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको स्पष्ट देखिन्छ । पार्टीभित्र नेता कार्यकर्तामा विशेष महाधिवेशनको प्रभाव सतहमै देखिन थालेपछि एउटै पार्टी बन्ने सम्भावना आगामी चुनावसम्म जाने देखिँदैन । आगामी चुनावमा कांग्रेसभित्रकै दुई पक्षबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । जसबाट एक पक्षले अर्को पक्षलाई हराउन भूमिका खेल्ने नेता कार्यकर्ता बताउँछन् ।

सम्बन्धित समाचार