काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नु पर्ने माग राखेका छन् ।
आर्थिक नगरी वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोही अनुसार लगानी गर्नु पर्ने उनको माग थियो ।
आजपा पर्सा जिल्ला कमिटीले आज वीरगञ्जको टाउनहलमा आयोजना गरेको ‘वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।
वीरगञ्जबाट देशको कूल राजस्वमध्ये ८० प्रतिशतभन्दा बढी उठ्ने गरेको छ । मुलुककै आर्थिक नगरीबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासीघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नु पर्ने बताए ।
उनले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गराउन सरकारलाई दबाब दिने उद्देश्यले आयोजित भेलामा सहभागीलाई धन्यवाद व्यक्त गरे ।
भेलामा उद्योगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवी, नागरिक समाजसहित विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।