गणेशलाई तत्काल थप उपचार गर्न भारत नलैजाने, कस्तो छ स्वस्थ्य अवस्था?

0 Shares

काठमाडौं । सरकारले चिकित्सकहरूको सुझावअनुसार मुगु सोरु गाउँपालिका १ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उनका उपचारमा संलग्न चिकित्सकहरूले सुरुआतमा दिएको सुझावअनुसार नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरिएको थियो ।

यसका लागि गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएका थिए । साथै, सरकारले जलनका बिरामी नेपालीका लागि हवाई उद्धार (एयर एम्बुलेन्स)को व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारमा सम्पूर्ण खर्च सरकारी कोषबाट ब्यहोर्ने निर्णय समेत गरिएको थियो ।

वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको उपचार जारी रहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो ।

चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचार गर्न भारत लैजान सुझाव दिएको छ । गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) गएरातिदेखि निरन्तर खटिरहेका छन् ।

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलन भएको जनाइएको छ । वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा.रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न छन् ।

सम्बन्धित समाचार