काठमाडौं । संघीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई कडा निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना र समयसीमासहितको विवरण पेस गर्न निर्देशन दिएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले ७७ वटै जिल्लाका करिब ३ करोड नागरिकलाई पर्याप्त र शुद्ध खानेपानी कहिलेसम्म उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा सरकारसँग ठोस जवाफ माग गरेका छन्।
काठमाडौं उपत्यकासहित देशभर खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै सभापति गजुरेलले स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक दायित्व भएको बताए।
आम नागरिकले शुद्ध खानेपानी कहिलेसम्म पाउने भन्ने विषयमा अहिलेसम्म स्पष्ट उत्तर प्राप्त हुन नसकेकाले कार्ययोजना र टाइमलाइनसहितको विवरण माग गरिएको उनले जानकारी दिए। प्राप्त कार्ययोजनाका आधारमा समितिले नियमन र अनुगमनलाई थप प्रभावकारी बनाउने र सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरेर छिट्टै स्थलगत अनुगमन समेत गर्ने तयारी समितिले गरेको छ। यसका लागि सरोकारवाला निकायसँग प्राथमिकता र योजनाबारे जानकारी माग्दै पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा सडक सुरक्षा विधेयक र विपद्का समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो, जसमा मन्त्रालयबाट भइरहेका कामहरूको समितिले निरन्तर अनुगमन तथा फलोअप गर्ने जनाएको छ।