रास्वपाले सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय, पदाधिकारी तथा केन्द्रीय सदस्य कसैलाई पनि तत्काल मनोनित नगर्ने निर्णय गरेको छ।

पार्टीको पहिलो महाधिवेशनपछि बुधबार बसेको केन्द्रीय समिति बैठकमा मनोनयनको विषयमा निर्णय नभएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। उनका अनुसार बैठकमा मुख्यतः नवनिर्वाचित पदाधिकारी तथा सदस्यबीच शुभकामना आदानप्रदान गरिएको थियो। साथै, पार्टीका तीन विभागमा नेताहरूको जिम्मेवारीबारे प्रारम्भिक छलफल भएको उनले बताए।

पार्टीकी महामन्त्री निशा डाँगीले पार्टी विधानअनुसार मनोनयन गर्ने अधिकार सभापतिमा रहेको उल्लेख गर्दै आवश्यकताअनुसार आगामी दिनमा मनोनयन गरिने बताइन्। ‘त्यो जिम्मेवारी हामी सबैले पार्टी सभापतिलाई सुम्पिसकेका छौँ। उनले आवश्यकता अनुसार बिस्तारै मनोनयन गर्नुहुन्छ,’ उनले भनिन्।

रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य, ३३ जना सचिवालय सदस्य तथा १० जना पदाधिकारी मनोनित गर्ने अधिकार रहेको छ। त्यसअनुसार आगामी दिनमा आवश्यकताका आधारमा मनोनयन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।

सम्बन्धित समाचार