कांग्रेस दलका नेता आङदेम्बेले भने–शासकीय स्वरुपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरुपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको टिप्पणी गरेका छन्। मंगलबार ६८औँ संसद् दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै नेता आङदेम्बेले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संकटमा पार्न नहुनेमा जोड दिए। नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण शासकीय स्वरुपमाथि प्रश्न उठाउन थालिएको बताए।

‘आज हामी त्यही शासकीय स्वरुपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति गरिरहेका छौँ। त्यो राम्रो कुरा होइन,’ उनले भने, ‘शासकीय स्वरूपलाई हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता र हाम्रो कमजोरीको दोष थोपर्न थाल्यौँ। त्यसलाई नबुझीकन, अभ्यास नै नगरिकन त्यसप्रति प्रश्न उठाउन थाल्यौँ। त्यो राम्रो कुरा हुँदैन।’

सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसलाई कुनै पनि लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने बताए।

‘आज हामीले जनतालाई यसको वास्तविक अनुभूति गराउने ठाउँमा पुर्‍याउनका निम्ति, जसरी शासकीय स्वरुपअन्तर्गत सात वटा प्रदेशको परिकल्पना गरेका छौँ र तीन तहको सरकारको संरचना परिकल्पना गरेका छौँ, त्यसमा कुनै लहर, आवेग वा उत्तेजनाले प्रभाव पार्नुहुँदैन,’ उनले भने।

सम्बन्धित समाचार