ओपेकलाई कच्चा तेलको उत्पादन कोटा बढाउन इराकको आग्रह

0 Shares

काठमाडौं । बग्दादले तेल उत्पादक राष्ट्रहरूको समूह (ओपेक)लाई इराकको तेल उत्पादन कोटा बढाउन आग्रह गरेको इराकको पेट्रोलियम पदार्थमामिला हेर्ने मन्त्रालयले बिहीबार बताएको छ ।

यसमा देशको तेल उद्योगलाई इतिहासका द्वन्द्वहरू र हालको क्षेत्रीय युद्धले पुर्याएको क्षतिलाई ध्यानमा राखिएको छ । अन्य तेल उत्पादक देशहरू इराक पनि मध्यपूर्व युद्धबाट निकै प्रभावित भएको छ । इराकको अर्थतन्त्र अत्यधिक तेल निर्यातमा निर्भर छ । जसले देशको बजेटको आम्दानीको स्रोतको करिब ९० प्रतिशत हिस्सा ओगट्छ ।

इराकको इन्धन मन्त्रालयले सदस्य देशहरूको ‘दिगो उत्पादन क्षमतासँग उत्पादन आधार रेखालाई मिलाउन’ पुनरावलोकन गर्नुपर्ने बताएको छ । यसमा ‘इराकको विशेष सुरक्षा तथा आर्थिक परिस्थितिलाई’ समेत ध्यान दिइनुपर्ने उल्लेख छ ।

मन्त्रालयले ओपेकले ‘सदस्य देशहरूको क्षमता पुनरावलोकन प्रक्रिया’ सुरु गरेको बताएको छ । इराक ओपेकबाट बाहिरिने सम्भावनाका समाचारहरू आएपछि तेल मन्त्रालयका प्रवक्ता सलीम अल–रिकाबीले एएफपीसँग भने, ‘इराकले सङ्गठनबाट बाहिरिने कुनै योजना बनाएको छैन र यसका संयन्त्रहरूप्रति प्रतिबद्ध छ ।’

उनले थने, ‘ओपेकले इराकको उत्पादन कोटा बढाउनै पर्छ, अन्यथा, सङ्गठनमा बस्ने वा छोड्ने बारे निर्णय लिनुपर्ने छ ।’ उनका अनुसार इराकले आफ्नो क्षमता र आवश्यकताअनुसार उत्पादन बढाउन थालेको छ ।

मन्त्रालयले ‘इराकले ओपेकको सदस्यता समाप्त गर्ने विचार गरिरहेको’ समाचारहरूले सरकारको आधिकारिक धारणालाई प्रतिबिम्बित नगर्ने स्पष्ट गरेको छ । मे महिनामा संयुक्त अरब इमिराट्स (युएई)ले ‘राष्ट्रिय हित’ र अर्थतन्त्रलाई भविष्यप्रति सुरक्षित बनाउने योजनाका कारण ओपेकबाट बाहिरिएपछि इराकको बाहिरिने सम्भावनाले ओपेकलाई थप कमजोर बनाउन सक्ने छ ।

इराकको मन्त्रालयले कुनै पनि परिवर्तन ओपेकको विद्यमान ढाँचाभित्र नै गरिने बताएको छ । तर दशकौँदेखिका युद्ध, प्रतिबन्ध र मध्यपूर्व युद्धका क्रममा क्षेत्रमा भएका आक्रमणपछि सदस्यहरूबीच इराकको अवस्थाप्रति ‘उच्च समझदारी’ रहेको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार