काठमाडौँ । अहिले प्रतिनिधि सभाको बैठक चलिरहेको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले नाराबाजी गरेतापनि अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका छन्।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८१ पेस गरेका हुन् । उनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्वेक्षण पेश गरेका थिए । अर्थमन्त्री पुनले सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्थाका बारेमा बताएका थिए । समग्र आर्थिक अवस्थामा सुधार भइरहेको पनि अर्थमन्त्रीको दाबी रहेको छ।
आर्थिक सर्वेक्षण पेश गर्नुअघि अर्थमन्त्री पुनलाई सभामुख देवराज घिमिरेले रोस्ट्रममा आउन समय दिएका थिए तर कांग्रेसका सांसदहरूले उनलाई रोक्न खोजेका थिए । तर सभामुखले अर्थमन्त्रीलाई रोस्ट्रममा आउने व्यवस्था मिलाउन सांसदहरूलाई आग्रह गरेपछि सत्तारुढ एमाले, माओवादी र रास्वपाका सांसदहरूले कांग्रेसका सांसदहरूलाई धकेलेर बाटो खाली गराएका थिए ।