अमेरिका-इरान सम्झौता भाँड्ने प्रयासमा इजरायली प्रधानमन्त्री नेतन्याहू, ट्रम्पको पार्टीमा असन्तुष्टि

0 Shares

जेरूसेलम- इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहू अमेरिका र इरानबीच भएको अन्तिम सम्झौता भाँड्ने प्रयासमा लागेको समाचार आएका छन् । उनी शनिबार भएको उक्त १४ बुँदे सम्झौतालाई कुनै हालतमा प्रभावित पारेर भाँड्ने प्रयास गरिरहेका इजरायली सञ्चारमाध्यमले नै लेखेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार उनी दक्षिणपन्थी चरित्रका सञ्चारकर्मीहरू र इजरायल समर्थक अमेरिकी सांसदहरूमार्फत् राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब बढाउन खोजिरहेका छन्।

इरानसँगको सम्झौतामा अमेरिकाले इजरायललाई कहीँ कतै ठाउँ दिएको छैन । दुई देशबीचको सम्झौतामा आफ्नो भूमिका नदेखेपछि उनले उक्त हस्ताक्षरलाई विफल बनाउने अभियान चलाएका हुन्।

कम्तीमा ६० दिनका लागि युद्ध रोकेर दुई देशबीच वार्ता सुरु भएपछि नेतन्याहूले मार्क लेभिन जस्ता दक्षिणपन्थी सञ्चारकर्मीहरूको सहारा लिएका छन्। लेभिनले बुधबार भनेका थिए, ‘यो सम्झौता बुझिनसक्नु छ ।’ उनले इरानका लागि प्रस्तावित पुनर्निर्माण कोषलाई ‘अनियन्त्रित खर्च कोष’ भनेर विरोध गरेका थिए ।

नेतन्याहू ट्रम्पलाई मनाउन इजरायल समर्थक अमेरिकी सिनेटरहरूको सहयोग लिने प्रयास पनि गरिरहेका छन्।

तर केही नेताहरूको धारणा बदलिँदै गएको देखिएको जनाएका छन् । यसअघि इरानमाथि थप आक्रमणको माग गर्ने सिनेटर लिन्डसे ग्राहमले बुधबार इनसँगको यो सम्झौता अमेरिकाको हितमा रहेको बताएका थिए ।

उता इरान-अमेरिका सम्झौतामा लेबनानसहित सबै मोर्चामा लडाइँ रोक्ने उल्लेख छ, तर इजरायलले लेबनानमा निरन्तर बम हानिरहेको छ। अमेरिका र इरानबीच सम्झौताको यो शर्तलाई कसरी बुझ्ने र व्यावहारिक रूपमा कसरी लागू गर्ने भन्नेमा अझै मतभेद छ।

बिहीबार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इजरायल सरकारका केही मन्त्रीको कडा आलोचना गरेका थिए। उनको भनाइले इरान सम्झौता र लेबनानमा इजरायली कारबाहीबारे अमेरिका र इजरायलबीच तनाव बढिरहेको देखाएको छ।

ट्रम्पको पार्टीमा असन्तुष्टि

सीएनएनको रिपोर्ट अनुसार इरानसँगको सम्झौताबारे पहिलो पटक अमेरिकी संसद्मा रिपब्लिकन पार्टीका ठूला नेताहरूलाई जानकारी दिँदा केही नेता स्तब्ध भएका थिए। उनीहरूले तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार पनि गरे।

अहिले धेरै रिपब्लिकन सिनेटरहरूले यो सम्झौतामाथि खुल्लमखुल्ला प्रश्न उठाइरहेका छन्। उनीहरूले ट्रम्पले इरानसम्बन्धी आफ्नो रणनीति बदल्नुपर्ने बताएका छन् ।

केही रिपब्लिकन नेताहरूले सम्झौताको कडा आलोचना गरेका छन्, जसमा पुनः चुनाव नलड्ने नेताहरू पनि छन्। लुइजियानाका रिपब्लिकन सिनेटर बिल क्यासिडीले भने, ‘यो सम्झौतापछि इरान झन् बलियो भएको छ, अमेरिका कमजोर भएको छ।’

 

सम्बन्धित समाचार