काठमाडौं । इरानको एक अदालतले हिजाबबिना गीत गाएको भन्दै गायिका परस्तु अहमदी र कारभान्सेराई कन्सर्ट कारभान्सेराई ‘कन्सर्ट’का अन्य ८ सदस्यलाई ७४ कोर्रा हान्ने सजाय सुनाएको छ।
साथै उनीहरूलाई दुई वर्षसम्म देशबाहिर जान र कलासँग सम्बन्धित क्रियाकलाप गर्न प्रतिबन्ध लगाउने फैसला गरिएको छ।
द गार्डियनका अनुसार इरानको कोम प्रान्तको अदालतले इस्लामिक कानुनअनुसार उनीहरू हरेकलाई ७४ कोर्रा हान्ने सजाय सुनाएको हो।
‘इन्टरनेटमा गलत र अश्लील सामग्री पोस्ट गरेर समाजको शालीनताको अपमान गरेको’ कसुर कलाकारहरूलाई लागेको हो।
कारभान्सेराई कन्सर्टको भिडिओ सन् २०२४ मा गायिका परस्तु अहमदीको युट्युब च्यानलमा अपलोड गरिएको थियो। यसले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको थियो। भिडिओमा गायिकाले हिजाबबिना नै गीत गाएकी थिइन्।
भिडिओ पोस्ट गरेको केही घण्टामै युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको थियो। यो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर पनि गरिएको थियो। आजसम्म भिडिओ लगभग ३० लाख पटक हेरिएको छ भने यसका क्लिप भाइरल भएका छन्।