स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री मेहता

0 Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छिन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउनका लागि उक्त तयारी भइरहेको भन्दै उनले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरूसहित सम्बन्धित सबै पक्षसँग आग्रह पनि गरिन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धि विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताइन् ।

‘स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने । सबै संगठित क्षेत्रहरूमा अनिवार्य स्वास्थ्य बीमा गर्ने । सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य विमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ । यसका लागि सबै माननीयज्युहरूको ध्यानाकर्षण र सहयोगको अपेक्षा राखेको छु,’ उनले भनिन् ।

सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी भइरहेको पनि बताइन् ।

‘सरकारको नीति तथा कार्यक्रम, बजेटअनुसार मन्त्रालयले वार्षिक कार्यक्रमहरू तय गरेको छ । विगत भन्दा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ऐतिहासिक र समृद्धि ल्याउने खालको रहेको छ,’ उनले भनिन् ।

मन्त्री मेहताले सरकारले विगत भन्दा बढी प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेको दाबी समेत गरिन् ।

 

सम्बन्धित समाचार