आइएमई ग्रुपले म्याग्दीमा ६६ मेगावाटको तिप्लाङ कालीगण्डकी जलविद्युत् आयोजना बनाउने

0 Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई ग्रुपले म्याग्दी जिल्लामा अर्को नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

ग्रुपले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ मेगावाट क्षमताको ‘तिप्लाङ कालीगण्डकी जलविद्युत् आयोजना’ निर्माण प्रक्रियालाई तीव्रताका साथ अघि बढाएको हो । आयोजना निर्माणका लागि आवश्यक पर्ने वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) लगायतका सम्पूर्ण प्राविधिक कामहरू समेत सम्पन्न भइसकेका छन् ।

यस जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) वि.सं. २०८० भदौ २२ गते नै सम्पन्न भइसकेको थियो। प्रवर्द्धक कम्पनी तिप्लाङ कालीगण्डकी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबीच पीपीए सम्झौता भएसँगै आयोजनाको भौतिक निर्माण कार्यको बाटो खुलेको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

अध्यक्ष ढकालले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै यो आयोजना केवल ऊर्जा उत्पादनको परियोजना मात्र नभई यस क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणको एउटा बलियो आधार बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस आयोजनाको निर्माणबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, सडक लगायतका भौतिक पूर्वाधारको विस्तार हुने, व्यावसायिक गतिविधि बढ्ने र समग्र क्षेत्रीय विकासमा दूरगामी सकारात्मक प्रभाव पर्नेछ ।

ऊर्जा क्षेत्रमा आक्रामक लगानी गरिरहेको आइएमई ग्रुपको हाइड्रोपावर क्षेत्रमा यो अर्को ठुलो र महत्त्वपूर्ण कदम हो। यसअघि ग्रुपले लमजुङ जिल्लामा २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना र म्याग्दी जिल्लामै ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाको निर्माण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ती दुवै आयोजनाहरूबाट हाल व्यावसायिक रूपमा विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ । म्याग्दीमा थपिन लागेको ६६ मेगावाटको यस नयाँ आयोजनाले देशको राष्ट्रिय ऊर्जा सङ्कट निवारण र आर्थिक समृद्धिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

सम्बन्धित समाचार