काठमाडौं । वैशाखमा विद्युतीय कारको आयात ह्वात्तै बढेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबाट विद्युतीय गाडीमा सरकारले भन्सार बढाउने आशंकामा व्यापारीहरुले धमाधम मागभन्दा बढी गाडी भित्र्याएका हुन् ।
सोरुममा मौज्दात गाडी भए पनि विद्युतीय गाडीको आयातमा कर बढ्ने आशंकाले व्यापारीहरुले आयात बढाएका हुन् । भन्सार विभागका अनुसार वैशाखमा मात्रै नेपालमा ३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँका दुई हजार ७६३ वटा विद्युतीय गाडी (कार, जिप, भ्यान) आयात भएको छ ।
ती गाडीको आयातबाट एक अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
यस आर्थिक वर्षको वैशाखमा मात्रै आयात भएका विद्युतीय गाडीको संख्या अघिल्लो आर्थिक वर्षको १० महिनामा आयात भएको बराबर हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो १० महिनामा दुई हजार ९५५ वटा विद्युतीय गाडी आयात भएका थिए ।
विभागका अनुसार गत आर्थिक वर्षको वैशाखमा ५०४ वटा मात्रै विद्युती गाडी आयात भएका थिए ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा २१ अर्ब २६ करोड ९४ लाख रुपैयाँका कुल ९ हजार ८५६ गाडी भित्रिएका छन् । उक्त आयातबाट कुल ७ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ ।
यसअघि गाडीहरु नाकासम्म ल्याउने र नेपालमा बुकिङ भइसकेपछि मात्रै भन्सार पास गरेर गाडी ल्याउने गरेका व्यवसायीहरुले अहिले भने माग नहुँदा पनि ह्वात्तै गाडीको आयात बढाएका हुन् ।
विद्युतीय गाडीको आयात ह्वात्तै बढे पनि चालु आर्थिक वर्षको पहिलो १० महिनामा समग्र वैदेशिक व्यापार भने २ दशमलव ५० प्रतिशतले घटेको छ ।
यस अवधिमा मुलुकको आयात करिब ३२ अर्बले घटेको छ । चालु आवको वैशाखसम्म १३ अर्ब ३ करोड ३५ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आवमा मुलुकमा कुल १३ अर्ब १३ अर्ब ३५ करोड ३२ लाख रुपैयाँको सामान आयात भएको थियो ।
यस्तै यस अवधिमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोही अवधिमा एक खर्ब ३० अर्ब ९ करोड रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।