दसैंपछि काठमाडौंमा कुखुराको मासुको मूल्य घट्यो, जिउँदो कुखुरा किलोको २८० रुपैयाँ

0 Shares

काठमाडौं । दसैं सकिएलगत्तै काठमाडौंमा कुखुराको मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको मूल्य घटाएको हो ।

संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटाइएको छ । यसअघि प्रतिकिलो २९० रुपैयाँमा बिक्री हुँदै आएको जिउँदो कुखुराको मूल्य घटाएर २८० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, तयारी कुखुराको मासुको मूल्य पनि प्रतिकिलो १५ रुपैयाँले घटाइएको छ । यसअघि प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासुको मूल्य अब ३८५ रुपैयाँ कायम गरिएको संघले जनाएको छ ।

बजारमा कुखुराको मासुको खपत घट्नु मूल्यमा गिरावट आउनुको प्रमुख कारण रहेको संघले जनाएको छ । दसैंका समयमा कुखुराको मासुको तुलनामा खसीबोकाको मासुको खपत बढी हुने भएकाले कुखुराको मासुको मागमा कमी आएको हो ।

त्यसैगरी, दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर गएका अधिकांश मानिस अझै फर्किसकेका छैनन् । उपत्यकामा मानिसको उपस्थिति कम हुँदा कुखुराको मासुको माग र खपत दुवै घटेको व्यवसायीहरूको भनाइ छ ।

मासुको मागमा आएको कमीका कारण बजारमा मूल्य समायोजन गर्नुपरेको संघले जनाएको छ । दसैंपछि उपत्यकामा जनजीवन सामान्य बन्दै जाँदा कुखुराको मासुको माग र मूल्यमा कस्तो प्रभाव पर्छ भन्ने आगामी दिनमा स्पष्ट हुने देखिन्छ ।

सम्बन्धित समाचार