काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा ४२ जना व्यवसायी, बीमा कम्पनीका पदाधिकारी र नियामक निकायका पूर्व नेतृत्व विरुद्ध अभियोग पत्र दर्ता गरेको छ । नेपाल बीमा प्राधिकरणको प्रारम्भिक अनुसन्धानपछि सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र दर्ता गरिएको हो । हिमालयन रिइन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ अपचलनमा ४२ जनाविरुद्ध बिमासम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।
मुख्य प्रतिवादीहरूमा हिमालयन री-इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा, नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन अध्यक्ष आशिष श्रेष्ठ, हिमालयन सेक्युरिटिज बैंकरका प्रमुख कार्यकारी अधिकृत सुवास बहादुर श्रेष्ठ र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट रहेका छन् ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन सञ्चालक अध्यक्ष सुलभ अग्रवाललाई यो गिरोहको एक प्रमुख योजनाकारका रूपमा उभ्याइएको छ । अन्य प्रतिवादीहरूमा उपासना पौडेल, मृगेन्द्र नाथ रिमाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, सुजल मल्ल, अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, सुभेच्छा खरेल, सुवास कुमार झुनझुनवाला, मनिष कुमार, दीपक कुमार श्रेष्ठ, सिताराम वाग्ले, आकांक्षा गुप्ता, शिशिर गैह्रे, रितेश प्रधान, कपिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, विदुर पुरी, विनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, शुमेर शम्शेर जबरा, सुवास पौडेल, शालिनी संघाई, प्रतिक जोशी, सन्दीप चाचान अग्रवाल, शुभी अग्रवाल, ऋषिराज मोर र राज बहादुर शाह रहेका छन् ।
यस संगठित वित्तीय अपराधमा नियामक निकाय नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्षद्वय मदन दाहाल र शरद ओझालाई समेत प्रतिवादी बनाइएको छ ।
सुनियोजित र संगठित आर्थिक अपराध भएको भन्दै सीआईबीको अनुसन्धानको निष्कर्ष छ । मुख्य प्रतिवादीहरू सुलभ अग्रवाल र दीपक भट्टको नेतृत्वमा एउटा आपराधिक समूह निर्माण गरी बीमा कम्पनीहरूको रकमलाई व्यक्तिगत सम्पत्ति सरह प्रयोग गरिएको अभियोगपत्रमा उल्लेख छ । उनीहरूले भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग मिलेमतो गरी बीमा कम्पनीहरूबाट अर्बौँ रुपैयाँ ‘एडभान्स’ (पेश्की) का रूपमा ब्रोकरको खातामा पठाउने गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।
साधारणतया सेयर खरिद गरेपछि मात्र रकम भुक्तानी गर्नुपर्नेमा, यी कम्पनीहरूले सेयर नै खरिद नगरी ब्रोकरलाई अर्बौँ रुपैयाँ पेश्की दिएको देखिएको छ । सो रकम ब्रोकरमार्फत दीपक भट्ट, सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाह लगायतका व्यक्तिगत नाममा सेयर खरिद गर्न प्रयोग गरिएको अनुसन्धानले देखाएको छ । ब्रोकरले बीमा कम्पनीको रकमबाट व्यक्तिगत नाममा सेयर किन्ने र त्यसको ‘कोल्याटरल’ समेत ती कम्पनीकै रकमबाट राख्ने गरिएको थियो ।
सबै गैरकानुनी सेयर कारोबारहरू एउटै स्थानबाट सञ्चालित भएको पाइएको हो । सुलभ अग्रवालको सौर्य सिमेन्ट र शाहिल अग्रवाल अध्यक्ष रहेको जगदम्बा स्टिल्सको कार्यालयमा रहेका कम्प्युटर र इन्टरनेट प्रयोग गरी विभिन्न व्यक्ति र कम्पनीको टिएमएस चलाइएको प्रमाण फेला परेको अभियोगपत्रमा उल्लेख छ । यसले विभिन्न बीमा कम्पनीका नाममा हुने कारोबार एउटै केन्द्रबाट व्यक्तिगत स्वार्थका लागि निर्देशित थियो भन्ने पुष्टि गर्ने अभियोगपत्रमा उल्लेख छ ।
बीमा ऐन र लगानी निर्देशिका अनुसार कुनै पनि बीमा कम्पनीले अर्को कम्पनीको सेयरमा लगानी गर्दा कुल लगानीको १५ प्रतिशतको सीमा पालना गर्नुपर्छ र नियामकको पूर्व स्वीकृति अनिवार्य हुन्छ । तर, हिमालयन री-इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सले यो सीमालाई कुल्चिएर ३१ प्रतिशतसम्म लगानी गरेका छन् । यसरी लगानी गर्दा बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू मदन दाहाल र शरद ओझाले नियम विपरीतका प्रस्तावहरूलाई तुरुन्तै स्वीकृति दिएर अपराधमा सहयोगीको भूमिका निर्वाह गरेको ठहर गर्दै उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ ।
पाँचवटा बीमा कम्पनी र तिनका सहायक कम्पनीहरूको कोषको रकम दुरुपयोग भएको पाइएको छ । कुल ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ ८३ पैसा दुरुपयोग भएको बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको छ । हिमालयन री-इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, हिमालयन क्यापसर्भ र एचएलआई लार्ज क्याप फण्ड लगायतका पब्लिक लिमिटेड कम्पनीहरूको फण्ड संगठित रूपमा दुरुपयोग भएको पाइएको छ ।
यी संस्थहरूको कोषलाई कानुन विपरीत भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मार्फत व्यक्तिगत सेयर खरिदमा प्रयोग गरिएको भेटिएको छ ।
अभियोगपत्रमा उल्लेख भएअनुसार भट्टले मात्र हिमालयन रिइन्स्योरेन्स लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्सको मात्र दुई अर्ब ८९ करोड २० लाख ४८ हजार दुरुपयोग गरेका थिए । त्यस्तै, राजबहादुर शाहले ८९ करोड ७० लाख ९७ हजार, ऋषिराम मोरले २३ करोड एक लाख, सुभी अग्रवालले ६२ करोड ८९ लाख र हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले २२ लाख २६ हजार दुरुपयोग गरेको थियो ।
‘यसरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लि। र सोही बिमकका सहायक कम्पनीहरू हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालय क्यापसर्भ र हिमालयन लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धक रहेको एचएलआई लार्ज क्याप फन्ड समेतका बिमक तथा सहायक कम्पनीको रकम योजनाबद्ध रूपमा असम्बद्ध व्यक्ति तथा संस्थाको नाममा प्रयोग गरी गराई बिमकलाई हानि–नोक्सानी पुर्याइएको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।
भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत यसरी इन्स्योरेन्स कम्पनीको रकमबाट सेयर खरिद भएको थियो । धितोपत्रमा लगानी गर्न बिमा प्राधिकरणबाट स्वीकृतिसमेत नलिएको अनुसन्धानमा खुलेको छ । यस मुद्दामा बिमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षलाई समेत प्रतिवादी बनाइएको छ ।
मदन दाहाल र शरद ओझाले अनियमिततामा साथ दिएको अनुसन्धानको निष्कर्ष छ । उनीहरूमध्ये ओझालाई गत वर्ष नै सरकारले बर्खास्त गरेको थियो भने दाहाल नेपाल सरकारको बहालवाला सचिव हुन् । यसमा भट्टलाई दुई अर्ब ८९ करोड, सुलभलाई तीन अर्ब ७३ करोड, सुभी अग्रवाललाई ६२ करोड, ऋषिराज मोरलाई २३ करोड, राजबहादुर शाहलाई ८९ करोड रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यस्तै, शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभासकुमार झुनझुनवाला, उपासना पौडेल, मनीषकुमार र दीपककुमार श्रेष्ठविरुद्ध संयुक्त रूपमा दुई अर्ब ७३ करोड ३३ लाख संयुक्त बिगो कायम गरिएको छ । उनीहरू नेपाल रिइन्स्योरेन्ससँग सम्बन्धित छन् ।
आशिष श्रेष्ठ, सिद्धार्थ झुनझुनवाला, ललिता गोल्यान, सुनिता श्रेष्ठ, अनुप ताम्राकार, बद्री सिग्देल, प्रविना दाहाल र मृगेन्द्रनाथ रिमालविरुद्ध १६ करोड १७ लाख बिगो कायम गरिएको छ । उनीहरू नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक तथा व्यवस्थापक हुन् ।
हिमालयन सेक्युरिटी बैंकरका दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले, आकांक्षा श्रेष्ठ र सुभाषबहादुर श्रेष्ठविरुद्ध २२ करोड १९ लाख बिगो छ । हिमालयन क्यापसर्भका सञ्चालकहरू शिशिर गैरे, दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले र रितेश प्रधानलाई संयुक्त ३७ करोड बिगो कायम गरिएको छ ।
हिमालयन इन्भेस्टमेन्ट बैंकर र एचएलआई लार्ज क्याप फन्डका कपिलकुमार दाहाल, राजनप्रसाद अधिकारी, बिनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानांग, सुमेरशमशेर जबरा, सुभाष पौडेल, शालिनी संघाई र प्रतीक जोशीविरुद्ध संयुक्त रूपमा २५ करोड ३७ लाख बिगो छ ।
भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिका कार्यकारी अध्यक्ष सन्दीप चाचन अग्रवाल, सुधा कर्ण र राजीव ठाकुरलाई संयुक्त तीन अर्ब ७३ करोड बिगो कायम गरिएको छ ।