काठमाडौं । नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीगोले फिफा विश्वकप २०२६ लक्षित विशेष ‘मोबाइल पास’ सार्वजनिक गरेको छ। कम्पनीले फुटबलप्रेमी दर्शकलाई लक्षित गर्दै मात्र ५४९ रुपैयाँमा विश्वकपका सबै १०४ खेल मोबाइलमै प्रत्यक्ष हेर्न सकिने सुविधा ल्याएको हो।
डीगोका अनुसार दर्शकहरूले अब नेपाली कमेन्टरीसहित फुल एचडी (१०८०p) गुणस्तरमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। कम्पनीले मोबाइल प्रयोगकर्ताका लागि विशेष रूपमा ‘मोबाइल–ओन्ली पास’ उपलब्ध गराएको जनाएको छ।
यो पास डीगो एपमार्फत सहज रूपमा खरिद गर्न सकिनेछ। कम्पनीका अनुसार प्रयोगकर्ताले एप खोलेर केही क्लिकमै पास सक्रिय गर्न सक्नेछन् र विश्वकप अवधिभर निर्बाध रूपमा खेलहरू हेर्न सक्नेछन्।
डीगो मोबाइल पासमा नेपाली र अंग्रेजी दुवै कमेन्टरीको विकल्प उपलब्ध हुनेछ। दर्शकले आफ्नो रुचिअनुसार भाषा छनोट गरेर खेलको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ।
डीगोका प्रवक्ताले नेपाली दर्शकलाई सहज, सुरक्षित र गुणस्तरीय खेल प्रसारण अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए। उनका अनुसार तेस्रो पक्षको माध्यम प्रयोग नगरी सिधै डीगो एपबाट पास खरिद गर्न सकिने भएकाले प्रयोगकर्ताले सुरक्षित र आधिकारिक प्लेटफर्ममार्फत विश्वकप हेर्न सक्नेछन्।
कम्पनीले हाल विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा देखिने ‘फ्रि स्ट्रिमिङ’ वा अनधिकृत एपहरूको प्रयोग नगर्न पनि आग्रह गरेको छ। यस्ता प्लेटफर्मले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारी जोखिममा पार्न सक्ने चेतावनी डीगोले दिएको छ।
डीगोले आफूलाई नेपालका लागि आधिकारिक स्ट्रिमिङ साझेदारका रूपमा प्रस्तुत गर्दै विश्वकपका सबै खेल उच्च गुणस्तरमा उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार ५४९ रुपैयाँको मोबाइल पास हालसम्मकै किफायती विश्वकप डिजिटल प्याकेजमध्ये एक हो।