एनपिएल खेल्न नेपाल आउने भए अस्ट्रेलियाका डेभिड वार्नर

0 Shares

अस्ट्रेलियन ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्।

आगामी कात्तिक ९ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तेस्रो सिजनको एनपिएलका लागि ३९ वर्षीय वार्नरसँग काठमाडौं गोर्खाजले सम्झौता गरेको हो।

काठमाडौंबाट खेल्ने पक्का भएसँगै वार्नरले नेपाल आउन र काठमाडौं गोर्खाज टोलीमा जोडिन धेरै उत्साहित भएको बताएका छन्। उनले धेरैका लागि नेपालमा अहिल् कठिन समय रहेको उल्लेख गर्दै एनपिएलले मानिसहरूमा खुसी ल्याउन र सबैलाई एकजुट बनाउन सहयोग पुर्याउने आशा व्यक्त गरेका छन्।

नेपाली फ्याको उत्साह र खेलप्रतिको लगावबारे धेरै सुनेकाले त्यो अनुभव गर्न आतुर रहेको उनको भनाइ छ। टी-२० क्रिकेटमा १४ हजार बढी रन बनाइसकेका वार्नरले विश्वभरका चर्चित फ्रेन्चाइज क्रिकेट लिग खेलिसकेका छन ।

उनले अस्ट्रेलियाको टेस्ट, एकदिवसीय र टी-२० तीनै फर्म्याटमा सयभन्दा बढी खेल खेलेका छन्।  यसअघि काठमाडौंले दुई जना विदेशी खेलाडी भित्र्यासकेको छ। भारतका पूर्व विकेटकिपर केएस भरत र श्रीलंका ‘ए’ का कप्तान सहन अराचचिगे काठमाडौंमा आबद्ध भएका थिए।

काठमाडौंको मार्की खेलाडीमा करण केसी छन् भने भीम सार्की, शाहव आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई ‘रिटेन’ भएका थिए। उसले साहिल पटेल, सोनु देवकोटा, सुर्यान्शु कोइराला, प्रसिद्ध जैसी, दयानन्दन मण्डल, कृष्ण पौडेल, देव शाह अक्सानबाट छानिएका थिए।

सम्बन्धित समाचार