काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेटमाथि छलफलका साथै विभिन्न विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यक्रम समेत निर्धारण गरिएको छ ।
यसैगरी, अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ । उनले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछन्। यस्तै, अर्थमन्त्रीले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैङ्क ९तेस्रो संशोधन० विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।