काठमाडौं । नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा हालसम्मकै ठूलो अन्तर्राष्ट्रिय लक्जरी लगानीमध्ये एकका रूपमा विश्वप्रसिद्ध होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपालमा भित्रिने भएको छ। नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुप (सीजी) ले विश्वकै ठूलो होटल कम्पनीहरूमध्ये एक म्यारियट इन्टरनेसनलसँग साझेदारी गर्दै उक्त अल्ट्रा–लक्जरी होटल ब्रान्ड नेपाल ल्याउन लागेको हो।
यससम्बन्धी रणनीतिक साझेदारी घोषणा आइतबार काठमाडौंमा हुने कार्यक्रममार्फत सार्वजनिक गरिँदैछ। परियोजनामा करिब १० करोड अमेरिकी डलर (१३ अर्ब रुपैयाँभन्दा बढी) लगानी हुने जनाइएको छ।
परियोजनाअन्तर्गत काठमाडौंको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र कान्तिपथ–ठमेल क्षेत्रमा करिब ९ रोपनी जग्गामा १५० कोठा क्षमताको अल्ट्रा–लक्जरी होटल निर्माण गरिनेछ। होटलसँगै ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स तथा क्यासिनोसमेत विकास गरिने योजना छ। परियोजना सन् २०२९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
परियोजनामा सीजी हस्पिटालिटी ग्लोबलसँगै आईजे ग्रुपका रविन्द्र श्रेष्ठ, शर्मा एन्ड कम्पनीका सौरव शर्मा, अमृत शाक्य तथा सञ्चित श्रेष्ठको समेत साझेदारी रहेको छ। निर्माण सम्पन्न भएपछि होटलको एक रातको कोठा शुल्क एक हजार अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका पाँचतारे होटलहरूको उपस्थिति विस्तार भए पनि विश्वका शीर्ष लक्जरी ब्रान्डहरूको संख्या सीमित छ। रिट्ज–कार्लटनको आगमनले उच्च खर्च गर्ने पर्यटक, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रिमियम आतिथ्य सेवाको बजार विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
रिट्ज–कार्लटन सन् १९८३ मा स्थापित विश्वकै प्रतिष्ठित लक्जरी होटल ब्रान्डमध्ये एक हो। हाल यो ब्रान्ड ३० भन्दा बढी देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्टमार्फत सञ्चालनमा छ। उच्चस्तरीय सेवा, विशिष्ट अतिथि अनुभव तथा विलासी सुविधाका कारण रिट्ज–कार्लटनलाई अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रिमियम ब्रान्डका रूपमा चिनिन्छ।
परियोजनासँगै म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट पनि काठमाडौं आएका छन्। सन् २०२२ देखि बोर्ड अध्यक्ष रहेका उनी म्यारियट संस्थापक परिवारको तेस्रो पुस्ताका प्रतिनिधि हुन्। उनको नेपाल भ्रमणलाई अन्तर्राष्ट्रिय होटल उद्योगले चासोका साथ हेरेको छ।
म्यारियट इन्टरनेसनलले हाल विश्वका १४६ देश तथा क्षेत्रमा ९ हजार ९ सयभन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ। कम्पनीअन्तर्गत रिट्ज–कार्लटन, जेडब्लु म्यारियट, वेस्टिन, शेराटन, ले मेरिडियनलगायत ३० भन्दा बढी अन्तर्राष्ट्रिय होटल ब्रान्ड रहेका छन्।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले रिट्ज–कार्लटनको प्रवेशले नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए। उनका अनुसार परियोजनाले विदेशी लगानी आकर्षित गर्नुका साथै रोजगारी सिर्जना, पर्यटन आम्दानी वृद्धि र सेवा क्षेत्रको विस्तारमा योगदान पुर्याउनेछ।
पछिल्ला वर्षहरूमा नेपालमा लक्जरी पर्यटन, अन्तर्राष्ट्रिय सम्मेलन, उच्चस्तरीय व्यवसायिक कार्यक्रम तथा दीर्घकालीन बसाइका पर्यटकहरूको संख्या बढ्दै गएको सन्दर्भमा यस्तो परियोजनाले नयाँ बजार सिर्जना गर्ने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार नेपाललाई हिमाल, पदयात्रा र सांस्कृतिक सम्पदाको गन्तव्यबाट प्रिमियम तथा लक्जरी पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न यस्ता अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति महत्त्वपूर्ण हुनेछ।
सीजी हस्पिटालिटी ग्लोबलले हाल १२ देशका १३० भन्दा बढी गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ। कम्पनीसँग १५ हजारभन्दा बढी कोठा क्षमता रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँगको साझेदारी विस्तार गर्दै आएको कम्पनीले पछिल्ला वर्षहरूमा नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा जोड दिँदै आएको छ।
चौधरी ग्रुपका अनुसार रिट्ज–कार्लटन परियोजनासँगै भविष्यमा म्यारियट समूहअन्तर्गतका वेस्टिन र जेडब्लु म्यारियट ब्रान्डका थप परियोजनाहरू पनि नेपालमा विस्तार हुने सम्भावना छ। घोषित योजनाअनुसार परियोजनाहरू कार्यान्वयन भए नेपालले पहिलोपटक विश्वका केही प्रतिष्ठित लक्जरी होटल ब्रान्डहरू एकैपटक भित्र्याउने अवसर प्राप्त गर्नेछ।