युद्ध अन्त्य गर्न पुटिनलाई जेलेनस्कीको आह्वान

0 Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुस र युक्रेनबीचको चार वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्नका लागि प्रत्येक्ष वार्ता गर्ने आह्वान गरेका छन् ।

खुला पत्रमा जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रस्ताव इमानदारीपूर्वक, मर्यादाका साथ र पुनः युद्ध नहुने ग्यारेन्टीका साथ गरिनु पर्नेसमेत बताएका छन् । जेलेन्स्कीले प्रस्तावित बैठक परम्परागत रुपमा अन्तर्राष्ट्रिय वार्ताका लागि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका स्विट्जरल्याण्ड, टर्की वा अरबका कुनै देशहरूमा हुन सक्ने उल्लेख गरेका छन् ।

उनले आफ्नो देश वार्ता प्रक्रियाको अवधिमा पूर्ण युद्ध-विराम लागू गर्न तयार रहेको बताउँदै अमेरिकासहितका अन्य अन्तर्राष्ट्रिय साझेदारले युद्धविरामको पालनाको निगरानी गरेर मद्दत गर्न सक्ने बताए । यदि, रुसले युद्ध-विराम प्रस्ताव अस्वीकार गरेमा किएभले आफ्नो अस्तित्वका लागि लडाइँ जारी राख्ने कुरामा जेलेन्स्कीले जोड दिए ।

प्रतिक्रियामा, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युद्ध-विराम प्रस्तावलाई स्वागत गरेको उल्लेख गर्दै जेलेन्स्कीले कुनै पनि समयमा मस्कोको यात्रा गर्न सक्ने बताएका छन् ।

पेस्कोभले राष्ट्रपति पुटिनले अझै पनि उक्त खुला पत्रको समीक्षा नगरिसकेको बताउदै चाँडै यसको बारेमा जानकारी दिइने बताए । द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयासहरू रोकिएले खुल्ला पत्र आदान-प्रदान भएको जनाइएको छ ।

यसैबीच पुटिनले कुनै पनि दीर्घकालीन सम्झौताले रुसको सुरक्षा चिन्तासहित युद्धको ‘मूल कारण’को रूपमा वर्णन गरेको विषयलाई सम्बोधन गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार