काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा सञ्चालनको गौरवमय ३० वर्ष पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको छ। यसै सुखद अवसरमा कम्पनीले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वरमा आयोजित उक्त कार्यक्रममा इन्स्योरेन्सका कर्मचारी तथा सर्वसाधारण नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । समाजमा रगतको अभावलाई न्यून गर्न र मानवीय सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।
विशेष रूपमा सञ्चालित उक्त रक्तदान कार्यक्रममार्फत कुल ५३ पिन्ट रगत सङ्कलन भएको कम्पनीले जनाएको छ । कार्यक्रमलाई सफल बनाउन नेपाल मेडिसिटी अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। रगत सङ्कलनका अतिरिक्त, कार्यक्रममा उपस्थित भएका रक्तदाता, कर्मचारी तथा सर्वसाधारणहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो। यस व्यवस्थाबाट कार्यक्रमका सहभागीहरूले आफ्नो तत्कालीन स्वास्थ्य अवस्थाबारे प्रारम्भिक र आवश्यक जानकारी प्राप्त गर्ने अवसर पाएका थिए ।
समाजमा रगतको उपलब्धता बढाउन तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न आयोजित यस किसिमका कार्यक्रमले सामाजिक सेवाप्रतिको उत्तरदायित्वलाई थप सुदृढ र परिपक्व बनाएको विश्वास कम्पनीले लिएको छ । स्थापनाकालदेखि नै ग्राहकहरूलाई निरन्तर भरपर्दो निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
साथै, कम्पनीले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउने नेपाल मेडिसिटी अस्पतालको प्राविधिक टोली, स्वैच्छिक रक्तदाताहरू, कर्मचारीहरू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार तथा धन्यवाद समेत प्रकट गरेको छ ।