काठमाडौं। एभरेष्ट कलर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ७९ हजार कित्ता सेयर यसअघि नै निष्कासन तथा बाँडफाँट भइसकेको छ। यस्तै, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
बाँकी ६ लाख ५५ हजार ७०० कित्ता सेयर भने आजदेखि सर्वसाधारणका लागि निष्कासन गरिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले जेठ २७ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरे निष्कासन अवधि असार ५ गतेसम्म लम्बिनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत तथा ‘मेरो सेयर’ प्रयोग गरी सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासनअघि कम्पनीले गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले ‘केयर–एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
चितवनको टाँडीमा उत्पादन प्लान्ट रहेको एभरेष्ट कलरले एक दशकभन्दा बढी समयदेखि इनडोर, आउटडोर तथा औद्योगिक प्रयोजनका पेन्ट उत्पादन गर्दै आएको छ। केयर रेटिङ्सका अनुसार कम्पनीको सञ्चालन आम्दानी, नाफा र नगद प्रवाहमा पछिल्लो समय उल्लेख्य सुधार देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी करिब ५० प्रतिशतले बढेर १४ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ करोड ५० लाख रुपैयाँ थियो। कम्पनीको खुद नाफा ३ प्रतिशतबाट बढेर १५ प्रतिशत पुगेको छ भने खुद नगद संकलन ६० लाख रुपैयाँबाट १ करोड ८० लाख रुपैयाँ पुगेको छ।
प्रवर्द्धकहरूले थप पुँजी लगानी गरी बैंक दायित्व भुक्तानी गरेपछि कम्पनीको ऋण–पुँजी अनुपात ०.०२ गुणामा झरेको छ। यसलाई कम्पनीको प्रमुख वित्तीय सबलतामध्ये एक मानिएको छ।
यद्यपि, पेन्ट उद्योगमा तीव्र प्रतिस्पर्धा, लामो उधारो असुली अवधि, कच्चा पदार्थको आयातमा निर्भरता तथा विदेशी विनिमय दरको उतारचढाव कम्पनीका मुख्य चुनौतीका रूपमा रहेका छन्। बजारबाट रकम उठ्न औसतमा १८८ दिन लाग्ने र सञ्चालन चक्र २४८ दिनको रहेको केयर रेटिङ्सले उल्लेख गरेको छ।
बजारमा स्थापित स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहे पनि कम्पनीले वित्तीय सुधार र ऋण व्यवस्थापनमा उल्लेख्य प्रगति गरेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।