परम्परागत खेती छाडेर सुन्तला बगानमा रुपान्तरण

0 Shares

काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य रोजाइ बन्न थालेको छ। कम मिहिनेतमा राम्रो आम्दानी हुने र एकपटक लगाएपछि वर्षौँसम्म उत्पादन दिने भएपछि यहाँका किसानले अन्नबाली छाडेर सुन्तला बगान विस्तार गर्न थालेका हुन्।

स्थानीय किसानले अहिले बारी तथा पाखो जमिनको उपयोग गर्दै व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्। सामान्य सिँचाइ, मलखाद व्यवस्थापन र रोगकीरा नियन्त्रण गर्न सके सुन्तलाबाट दीर्घकालीन आम्दानी लिन सकिने भएपछि युवा पुस्ता समेत यसप्रति आकर्षित भएका छन्।

टेम्केमैयुङ–२ का वडासदस्य जीवन राईका अनुसार छिनामखुका किसानले सुन्तला बिक्रीबाटै वार्षिक १ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। “बगानको आकार र व्यवस्थापनका आधारमा किसानको कमाइ फरक–फरक छ,” वडासदस्य राईले भने, “पहिले घरायसी प्रयोजनका लागि मात्रै खेती गर्नेहरू पनि अहिले व्यावसायिक रूपमा अघि बढेका छन्। यो यहाँका बासिन्दाको भरपर्दो आर्थिक स्रोत बनेको छ।”

वडाका बारताङ, छाम्लाखा, कोटाचुङ, राईखीम, ठेवा, ठेवा, रिठाबोटे, रातोमाटे र देवीथान लगायतका टोलहरूमा सुन्तलाको व्यावसायिक उत्पादन बढी हुने गरेको छ। यहाँ उत्पादित सुन्तला गुणस्तरीय हुने भएकाले बजारमा माग उच्च छ। गाउँसम्मै सडकको पहुँच पुगेकाले खरिदका लागि ठेकेदारहरू सिधै किसानको बगानमै पुग्ने गरेका छन्। जसका कारण किसानलाई बजार खोज्ने झन्झट छैन।

सुन्तलाको कमाइले घरखर्च चलाउन, बालबालिका पढाउन र स्वास्थ्योपचार गर्न निकै सहज भएको स्थानीय किसान रुद्रबहादुर विष्टले बताए। कतिपय किसानले सुन्तलाको आम्दानीलाई अन्य कृषि व्यवसायमा समेत लगानी गर्न थालेका छन्।

वडाको प्रोत्साहन, रोगकीराको चुनौती
सुन्तलाखेतीको बढ्दो सम्भावनालाई मध्यनजर गर्दै वडा कार्यालयले पनि यसलाई प्राथमिकतामा राखेर विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ। वडाध्यक्ष बालचन्द्र राईका अनुसार किसानलाई उन्नत जातका बिरुवा वितरण, प्राविधिक सहयोग, तालिम तथा बगान व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम प्रदान गरिँदै आएको छ।

“हाम्रो वडाको तल्लो भेग सुन्तला उत्पादनका लागि निकै अनुकूल छ,” वडाध्यक्ष राईले भने, “सुन्तलाखेतीले बाँझो जमिनको सदुपयोग त भएको छ नै, स्थानीयस्तरमा रोजगारी समेत सिर्जना गरेको छ।”

छिनामखु क्षेत्रमा सुन्तलाखेतीले आर्थिक कायापलट गरिरहे पनि पछिल्लो समय केही प्राविधिक चुनौती देखिएका छन्। बोटमा पात पहेँलो हुने, फलमा खरानीजस्तो सेतो दाग देखिने र बोट क्रमशः सुक्दै जाने समस्याले किसान चिन्तित छन्।

कृषि प्राविधिकहरूका अनुसार समुद्री सतहबाट करिब ८ सयदेखि १५ सय मिटर उचाइसम्मको क्षेत्र सुन्तलाखेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ। छिनामखुको भूगोल, माटो र तापक्रम सुन्तलाका लागि अनुकूल रहेकाले भविष्यमा यहाँको आर्थिक सम्भावना अझ बलियो हुने स्थानीय बताउँछन्।

सम्बन्धित समाचार