काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (NIMBUZZ) बीच ग्राहकलाई थप डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।
सम्झौताअनुसार अब कुमारी बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय eSIM (डेटा सेवा) र इन्टरनेसनल ड्राइभिङ परमिट (International Driving Permit–IDP) सम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्।
यस सहकार्यपछि विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यावसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने ग्राहकलाई विशेष सुविधा पुग्ने बैंकले जनाएको छ।
डिजिटल युगमा अन्तर्राष्ट्रिय यात्राका क्रममा भरपर्दो इन्टरनेट पहुँच र आवश्यक यात्रा कागजातको व्यवस्थापन महत्वपूर्ण हुने भएकाले eSIM र IDP सेवाले ग्राहकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
eSIM सेवामार्फत ग्राहकले विदेश पुगेपछि स्थानीय सिम खरिद गर्ने, सिम परिवर्तन गर्ने वा विभिन्न नेटवर्क सेवा खोज्ने झन्झटबाट मुक्त भई सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्नेछन्। त्यस्तै, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने बैंकले जनाएको छ।
यी दुवै सेवाको शुल्क ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नै नेपाली रुपैयाँमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसले विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउनुका साथै प्रक्रिया थप सुरक्षित र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ।
कुमारी बैंकले प्रविधिमा आधारित आधुनिक बैंकिङ सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। बैंकका अनुसार यस सहकार्यले ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रका ग्राहकलाई समान रूपमा अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवामा पहुँच विस्तार गर्न सहयोग गर्नेछ।
२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०३ एटीएम र ४० शाखारहित बैंकिङ सेवामार्फत लाखौँ ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। बैंकले डिजिटल रूपान्तरणमार्फत ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।