काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले भारतीय दूतावासनजिक शान्तिपूर्ण रूपमा पम्पलेट वितरण गर्न गएका अभियानकर्तामाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको छ। प्रदर्शनकारीलाई नियन्त्रण लिएपछि हिरासतमा राजनीतिक दबाब र दुर्व्यवहार भएको आरोप उक्त अभियानले लगाएको छ।
अभियानले सोमबार विज्ञप्ति निकालेर लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा शान्तिपूर्ण अभिव्यक्ति दिन भारतीय दूतावासनजिक पुगेका बेला प्रहरीले अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिई काठमाडौं प्रहरी वृत्त लैनचौरमा राखेको जनाएको छ।
हिरासतमा राखिएको करिब एक घण्टापछि पूर्व गृहमन्त्री तथा सांसद सुधन गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी अभियानकर्तामाथि मानसिक दबाब सिर्जना गर्ने, धम्कीपूर्ण र अमर्यादित व्यवहार गरेको आरोप लगाइएको छ। गुरुङले ‘तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ,रु ुयो अन्तिम मौका हो’, अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ’ तथा सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्’ जस्ता अभिव्यक्ति दिएको अभियानको दाबी छ।
अभियानले प्रहरी हिरासतमा रहेको अवस्थामा प्रभावशाली राजनीतिक व्यक्तिले थुनुवा कक्षमै प्रवेश गरी दबाबमूलक व्यवहार गर्नु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ।