काठमाडौँ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रालिबीच कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमार्फत बीमा पहुँच विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ।
जेठ १७ गते सम्पन्न उक्त सम्झौताअनुसार कृषि तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धी सेवाको पहुँच कम भएका समुदायसम्म बीमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। विशेषगरी सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाका स्थानीय समुदायलाई लक्षित गरी कार्यक्रम अघि बढाइने जनाइएको छ।
सम्झौतापत्रमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोजन प्रसाद उपाध्याय र वाइज याक सोलुसन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. सुरेश मानन्धरले हस्ताक्षर गरेका छन्।
दुवै संस्थाबीचको सहकार्यले आधुनिक प्रविधिको उपयोग गर्दै ग्रामीण तथा बीमा सेवाबाट वञ्चित वर्गसम्म बीमा सम्बन्धी जानकारी, जनचेतना र सेवा विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
बीमा क्षेत्रको दायरा विस्तारसँगै वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउन यो साझेदारी प्रभावकारी हुने अपेक्षा गरिएको छ ।