सुपर तमोर जलविद्युत् आयोजनामा १९ अर्ब ऋण लगानी सुनिश्चित, कुल अनुमानित लागत २५ अर्ब ४० करोड

0 Shares

काठमाडौँ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट र विभिन्न बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य तथा बैंकहरूको तर्फबाट प्रतिनिधिहरूले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्। आयोजनाको कुल अनुमानित लागत २५ अर्ब ४० करोड रुपैयाँ रहेको छ, जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमार्फत लगानी जुटाइनेछ।

आयोजनामा १९ अर्ब रुपैयाँ ऋण लगानी गर्न ६ वटा वाणिज्य बैंक सहमत भएका छन्। ऋण व्यवस्थापनको अगुवाइ ग्लोबल आइएमई बैंक ले गरेको छ। सह–अगुवा बैंकका रूपमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक रहेका छन्। त्यस्तै कृषि विकास बैंक र नेपाल एसबिआई बैंक पनि सहभागी बैंकका रूपमा रहेका छन्।

बैंकहरूको लगानीमध्ये ग्लोबल आइएमई, सिद्धार्थ र लक्ष्मी सनराइज बैंकले समान ४–४ अर्ब रुपैयाँ लगानी गर्नेछन्। प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।

आयोजना २५.५ घनमिटर प्रतिसेकेन्ड पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ। आयोजनाको हेड ७६२ मिटर रहनेछ भने वार्षिक ९८३.१३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित विद्युतमध्ये करिब ३०.८५ प्रतिशत सुख्खायाम र ६९.१५ प्रतिशत वर्षायाममा उत्पादन हुने जनाइएको छ।

विद्युत् बिक्रीबाट पहिलो वर्षमै करिब ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। विद्युत् खरिद बिक्री सम्झौताअनुसार पहिलो आठ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धिको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

आयोजनाअन्तर्गत ५० मिटर लामो बाँध, ६ किलोमिटर लामो सुरुङ तथा विद्युत्गृह निर्माण गरिनेछ। उत्पादित विद्युत् ८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

हाल आयोजनास्थलमा पहुँच सडक, कार्यालय, कामदार आवास, सामग्री भण्डारण गृह तथा सुरक्षा संरचना निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आयोजनामा स्थानीय बासिन्दासहित जलविद्युत् क्षेत्रमा अनुभवी लगानीकर्ताको समेत सहभागिता रहनेछ। भविष्यमा सर्वसाधारणका लागि पनि सेयर निष्कासन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार