काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क ३२ अर्ब ५३ करोड रुपैयाँ बराबर सङ्कलन भएको छ । कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।
गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ । चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ ।
निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गरिएको छ । बिमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन् ।
निर्जीवन बिमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनः बिमा अभिकर्ताले रोजगारी पाएका छन् ।