काठमाडौँ । मुक्तिनाथ विकास बैंक ले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा पहुँच विस्तार र समावेशी विकासलाई लक्षित गर्दै विभिन्न संस्थालाई २० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ।
बैंकले ‘गुणस्तरीय स्वास्थ्य सेवा पहुँच, समावेशीता प्रवर्द्धन तथा दिगो विकास लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यसहित ह्वीलचेयर सहयोग कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कार्यक्रमअन्तर्गत धनगढीस्थित सेती प्रादेशिक अस्पताल लाई १० थान ह्वीलचेयर हस्तान्तरण गरिएको छ। अस्पतालमा उपचारका लागि आउने तत्कालीन बिरामी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राहीलाई अस्पताल परिसरभित्र सहज आवतजावतमा सहयोग पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, गोरखास्थित अपाङ्गता व्यक्तिहरूको संगठन गोरखेश्वर युवा अपाङ्ग संगठन नेपाल लाई पनि १० थान ह्वीलचेयर उपलब्ध गराइएको छ।यस सहयोगले आवश्यकताअनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई सहज, सुरक्षित र सम्मानजनक जीवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकका अनुसार यो कार्यक्रमले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यअन्तर्गत ‘स्वास्थ्य र समुन्नत जीवन’ तथा ‘असमानता न्यूनीकरण’ जस्ता लक्ष्यहरू प्राप्त गर्न योगदान पुर्याउनेछ।
बैंकले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायस्तरका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।