काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज जेठ ६ गते बुधबार काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा बस्दैछ। कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको १८२औं बैठकले गरेको निर्णयअनुसार आज बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ। सोअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ५६ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरिनेछ।
त्यसैगरी कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम चालू आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
साथै कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद शेयरसम्बन्धी व्यवस्था र त्यसबाट कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्न र बोनस शेयर जारीपश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक निर्देशन आए सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गते एक दिन शेयर दर्ता किताब बन्द (बूक क्लोज) गरिसकेको छ। त्यसअघिसम्म अर्थात वैशाख २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।